असार ५, दोलखा । तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै गएको पहिरोले रोङसी खोला थुनिएको हो ।
पहिरोले थुनिएको खोला ताल बनेर बसेको छ । ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष आज बिहान उक्त क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । पहिराले थुनिएको रोङ्सी खोला ओभरफ्लो भएर बग्न थालेको जनाउदै प्रजिअ घिमिरेले पहिरो गएको स्थान खुलाउन चिनियाँ टोली पुगेर काम सुरु गरेको बताए ।
धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल फुटाउने काम भइरहेको उनको भनाई छ । नेपालतर्फबाट उक्त क्षेत्र जान असम्भव भएकाले उतैको टोली खोला थुनिएको क्षेत्रमा पुगेको छ। चीनीँया टोलीले ताल बनेको खोला फुटाउने काम सुरु गरिसकेको छ ।
ताल फुटाउन चिनियाँ टोली पुगे पनि कति जना परिचालन गरिएको खुलाइएको छैन । रोङ्सी खोला सामान्य अवस्थामा आउन समय लाग्ने भएकाले जोखिम कायमै रहेको उनले सुनाए । उक्त खोलाबाट बाढी आउन सक्ने आकंलन गर्दै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयबाट पानी छाडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए ।
तामाकोसी जलाशयमा हाल पानीको सतह १९ सय ७८ मिटरमा छ । आयोजनाको बाँधले प्रतिसेकेन्ड ६ सय घनमिटरको बाढीको बहाव आए ३ सय नदीमा छोडेर ३ सय जलाशयले डेढ घण्टा रोक्न सक्ने छ । तामाकोसीको बाँध ५ हजार घनमिटरको बाढी थेग्न सकिने गरी निमार्ण गरिएको छ ।
चीनको तिङ्ग्री काउन्टीको नेपालसँग सीमा जोडिएको लप्चीनजिकै पहिरो गएर गएरातिबाट मुख्य सहायक खोला थुनिएको हो । चीनसँग सिमा जोडिएको ६० र ६१ नम्बर सीमास्तम्भनजिकै पहिरो गएर नदी थुनिएको छ । तामाकोसीमा बाढी आउन सक्ने भन्दै नदीतटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । तामाकोसीको तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानमा जान जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।