गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । आज बैठक सुरु भएलगत्तै सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न समय दिएका हुन् ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार उनले शुक्रबार प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेका हुन् । गत जेठ २९ गते उनी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।
उनलाई काँग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेका कारण उनले विस्वासको मत पाउने संभावना छ ।
विस्वासको मत पाएपछि मुख्यमन्त्री पोखरेलले मन्त्रीपरिषद् विस्तार र जिम्मेवारी विभाजन गर्ने तयारी भएको जनाईएको छ ।