काठमाडौं, असार १ । लगातारको बर्षाका कारण मेलम्ची खानेपानीको मुहानमा बाढी पसेको छ । ह्योल्मोभूमि हेलम्बु हुँदै आएको बाढीले इन्द्रावती मेलम्ची लगायतका करिडोर क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको छ ।
मेलम्ची नदीमा आज साँझ आएको बाढी मेलम्ची खानेपानी आयोजनामा पसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिउँसोदेखिको अविरल वर्षाका कारण मेलम्ची नदीको बाढीले हेलम्बु गाउँपालिकाको किउलमा रहेको ट्राउट फर्म, रिसोर्टमा कार्यरत केहीलाई बगाएर बेपत्ता बनाएको अपुष्ट खबर आएको प्रहरीले जनाएको छ ।
बाढीमा ६ जना बेपत्ता भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मेलम्ची आयोजनाको काम गर्ने व्यक्तिहरु बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसिसकेको छ ।
मेलम्चीको बहाव अत्यधिक बढेकोले जनधनको क्षति हुनसक्ने अनुमान गरेको छ । अहिले सुरक्षामा र तत्कालीन व्यवस्थापन उद्धारमा प्रहरी व्यस्त रहेको र कति जना को को बेपत्ता छन् भन्ने सम्पूर्ण विवरण प्रस्ट नखुलेको जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । बाढीले नदी किनारक्षेत्रका अधिकांश संरचना तहसनहस बनाएको स्थानीयले बताएको र प्रहरीले घटनाबारे बुझिरहेको बताएका छन् ।
अविरल वर्षातले मुहानस्थलबाट नै मेलम्ची नदीको बाढी हेलम्बु पुगेपछि आसपासका जोखिमपूर्ण क्षेत्रबाट स्थानीय र सुरक्षाकर्मी सुरक्षित स्थानमा सरेका छन् ।
उता, हेलम्बु भेगमा मात्रै ४ ५ जना बेपत्ता भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको अनुमान छ । मेलम्ची नदीको मुहानस्थल नाकुतेबाट बढ्दै आएको मेलम्ची नदीले हेलम्बु २ किउल, ग्याल्थुम र मेलम्ची नदी आसपासका ट्राउट फर्म रिसोर्टसहित केही घर बगाएको छ । पुल सडक समेत बगाएको खबर आएको र घटनाबारे बुझिरहेको उनले बताए ।
बाढीले बिद्युतिय संरचनामा समेत क्षती पुर्याएकाले बिद्युत समेत अबरुद्ध भएको छ । हेलम्बु गापा २ किउल, ग्याल्थुम, तिपेनी, तालामाराङ हुँदै मेलम्ची बजारसम्म एक दर्जनभन्दा बढी स्थानीय घर छाडेर सुरक्षित स्थानमा सरेको खबर छ । इन्द्रावती गाउँपालिका र मेलम्ची नगर जोड्ने पुल पनि मेलम्ची नदीको बाढीले बगाएको स्थानीय बताउछन् ।स्थानीयलाई नदी आसपासका क्षेत्रमा नजान आग्रह गर्दै सो क्षेत्रमा सुरक्षाकर्मीले सावधानी अपनाइरहेका छन् । नदीको तल्लो तटिय क्षेत्रका स्थानीयलाई पनि सुरक्षीत रहन आग्रह गरिएको छ ।