१ असार काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले प्रतिनिधिसभा विघटनको मुद्दामा वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रुपमा सिफारिस गरेको छ ।
सर्वोच्च बारको आज बसेको बैठकले एमिकस क्युरी सिफारिस गरेको कार्यसमिति सदस्य विकास भट्टराईले जानकारी दिएका छन्।
जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।
उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ २ जना एमिकस क्युरी माग गरेको थियो ।
कुनै गम्भीर मुद्दामा अदालतले राय आवश्यक पर्ने ठानेमा एमिकस क्युरी माग गर्ने प्रचलन छ । संयुक्त इजलासले एमिकस क्युरीको माग गरेपछि आज बसेको बैठकले घिमिरे र केसीलाई एमिकस क्युरीमा सिफारिस गरेको हो ।