बारा, ३० जेठ । बाराको करैयामाई गाउँपालिका वडा नं. ८ बेलाही टोल अहिले सम्म पनि सडक संञ्जालसँग जोडिन सकेको छैन । बेलाही टोल र ईटहर टोल बीच भएर बगेको तियर नदीमा हालसम्म पनि पुल निर्माण हुन नसक्दा सो टोलका बासिन्दाहरु टापुमा रहेको अनुभुति गर्दै आएका छन् । बर्षायाममा नदीमा बाढी आउँदा बेलाही गाउँका करिब ९ सय परिवार हप्तौसम्म गाउँ बाहिर निस्किन सक्दैनन् । वर्षायामभरि त्यहाँका बासिन्दाहरुलाई निकै सास्ती हुदै आएको छ ।
वर्षौ पहिला सो नदीमा सानो पुल रहेको थियो । बाढीले पुल बगाएपछि हालसम्म सो नदीमा पुल बन्न सकेको छैन । अहिले सम्म बेलाही गाउँसंग अन्य सडक संञ्जाल पनि जोडिएको छैनन् । एकमात्र सडक बेलाही र ईटहर हो । जनताको हारगुहार पछि पुल बनाउँन प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक बर्ष २०७६/०७७ मा करिब १० करोड रुपैया बजेट निकासा गरी सकेका छन ।
भौतिक पूर्वाधार कार्यालयले वीरगन्जले पुल निर्माणको लागि टेण्डर मार्फत कलैयाकै विनोद साह निर्माण कम्पनीलाई जिम्मा समेत दिएको छ । पुल निर्माणको लागि तामझामका साथ शिलान्यास गरिएपनि हालसम्म निर्माणको प्रकृया अगाडी बढाईएको छैन ।
स्थानिय अगुवा राजकिशोर चौधरीले पुलको शिलान्यास गर्न प्रदेशका मन्त्री देखि क्षेत्रका सांसद, गाउँपालिकाका मेयर लगायतका नेताहरु आएका थिए । शिलान्यास गरिएपनि हालसम्म पुल निर्माण कार्य अगाडी बढाईएको छैन । उनले भने, वीरगन्ज, कलैया जाने मुख्य सडक हो यो । पुल निर्माणको ठेक्का पाएको ठेकेदारले भ्रष्ट्रचार गर्न तियर नदीको पुल निर्माण नगरी सानो कलर्भटकाे पुल निर्माणमा लागेको उनको आरोप छ ।
स्थानीय अगुवा राजकिशोर चौधरीका अनुसार गाउँमा एम्बुलेन्स पुग्न सक्दैन । चारपांग्रे सवारीका साथन पुग्न सक्दैनन् । वर्षायाम लाग्ने बित्तिकै बालबालिकाहरु स्कूल जान सक्दैनन् । कृषकहरुले आफ्ना कृषि उपज बजार पु¥याउन सक्दैनन् । अवस्था दयनिय रहेको छ तर सरोकारवालाको कुनै ध्यान छैन । उनका अनुसार पुल निर्माणको लागि प्रदेश सरकारसँग सम्झौता सकार भएको सुनिए पनि निर्माण कार्य कहिले देखि शुरु हुने ठेगान छैन ।
एक जना स्थानीय महिला सुनिता पासवानका अनुसार खासगरी गाउँका कुनै महिलालाई सुत्केरी व्यथा शुरु हँुदा सबैभन्दा बढी समस्या हुने गरेको छ । गाउँमा एम्बुलेन्स पुग्न सक्दैन । यहाँ प्राथमिक अस्पतालको पनि व्यवस्था छैन । वडा नं. ८ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र तथा बर्थिङ्ग सेन्टर नरही चौकमा छ । जहाँसम्म वर्षायाममा पुग्न कठिन छ । राति कसैलाई समस्या भइहाले बिहानसम्म कुर्नु पर्ने, घरमै बच्चा जन्माउनु पर्ने अथवा अकालमै ज्यान गुमाउनु पर्ने समस्या विगत लामो समयदेखि सो गाउँमा विद्यमान रहेकाे पासवानको भनाई छ ।

गाउँको मुख्य बाटोमा पुल हालसम्म निर्माण नहुनु तथा बाटो नै नरहेको ठाउँमा पुल निर्माण हुन थालेपछि सो टोलमा बासिन्दाहरु पछिल्लो समयमा आक्रोशित भएका छन् । स्थानीयहरुले जनप्रतिनिधिहरुले निर्माण कम्पनीसँग मिलेर भ्रष्टाचारको ठूलो जालो बुन्न थालेको भन्दै बिरोध जनाएका छन् । सो टोलमा बासिन्दाहरुले जबसम्म मुख्य सडकको नदीमा पुल निर्माण हुदैन, तबसम्म गाउँको अन्य ठाउँमा पुल निर्माण गर्न नदिने बताउँदै आएका छन् ।
बेलाही टोलको दुई स्थानका लागि प्रदेश २ भौतिक पूर्वाधार विकास कार्यालय र योजना आयोगसँग एउटै कम्पनीले पुल निर्माण गर्ने ठेक्का सकार गरी सम्झौता गरेको करैयामाई गाउँपालिका स्रोतले जनाएको छ । तर सम्झौता भएको लामो समय भइसक्दा पनि निर्माण कम्पनीले काम शुरु गर्न सकेको छैन । राजनितिक आडमा निर्माण कम्पनीले जनतालाई दुःख दिने काम गरेको स्थानीयहरुको भनाई रहेको छ ।
मुख्य बाटोको पुल निर्माण नगर्नु तथा बाटो नै नरहेको ठाउँमा पुल निर्माण कार्य अगाडि बढाउनुलाई द्वन्द्व बढाउने खेल र भ्रष्टाचार गर्ने जालो बुनेको स्थानिय अगुवाहरुको भनाई छ । उनीहरुले यो कार्यको दोष स्थानिय जनप्रतिनिधिहरुलाई लगाउँदै आएका छन् । स्थानीयहरुले समस्या समाधानको लागि गाउँपालिकाको न्यायिक समितिका उजुरी समेत दिएको बेलाही टोल निवासी कोशलेस चौधरीले बताए ।
गाउँको दुवै पुल निर्माणको लागि शेषनाथ साहको विनोद सेवा कम्पनीले ठेक्का सकार गरेको छ । ठेक्का सकार भएको धेरै समय बितिसक्दा पनि हालसम्म जनताको जिउधनसँग जोडिएको मुख्य बाटोको पुल निर्माण हुने छाँटकाँट देखिएको छैन । कार्यक्रम बहुवर्षिय रहेको भन्दै निर्माण कार्य समयमै पुरा गर्ने निर्माण कम्पनीको दाबी छ । निर्माण कम्पनीले एउटा पुलको निर्माण कार्य शुरु गर्न आवश्यक समाग्री खसाली सकेको भए पनि स्थानियहरुको अवरोधका कारण काम अगाडी बढन नसकेको जनाएको छ । हाल बेलाही टोललाई जोडने कतैबाट राम्रो सडम र पुल नभएको कारण सिंगो गाउँ नै टाप्पुमा परिणत भएको छ ।