पोखरा जेठ ३० । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अप्राकृतिक गठबन्धनका कारण प्रदेशमा एमालेको सरकार ढलेको भन्दै यो गठबन्धनको आयु लामो नभएको दाबी गरेका छन् ।
आज पोखरामा पत्रकार सम्मेलन गर्दै गुरुङले प्रदेशमा काँग्रेस नेतृत्वमा बनेको वर्तमान गठबन्धनको आयु लामो नभएको टिप्पणी गरेका हुन्।
हिजो मात्रै काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्र सांसद दिपक मनाङेको समर्थनमा मुख्यमन्त्री बनेपछि गुरुङको यस्तो प्रतिकृया आएको हो । उनी जेठ २७ गते विस्वासको मत लिन असफल भएपछि स्वत पदमुक्त भएका थिए ।
गण्डकीमा एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका निभाउने उनको भनाइ छ ।
उनले आफुले समेत मुख्यमन्त्रीमा दावी पेश गरेको विषयलाई गलत अर्थले प्रचारबाजी गराएको भन्दै असन्तुष्टि जनाए । ‘प्रदेशका सबै सदस्यले दाबी गर्न पाउँछन् । उपधारा ५ मा त्यो व्यवस्था छ । के मैले दाबी गर्दा अपराध हुन्छ ? गुरुङले भने ।