जेठ २८ पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनको लागि दलहरुलाई आह्वान गरेकी छन् । उनले संविधानको धारा १६८ उपधारा ५ बमोजिमको सरकार गठनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकी हुन् ।
यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदमुक्त भएका थिए ।
६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ मतको आवश्यकता पर्छ । त्यसरी गठन हुने नयाँ सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
मुख्यमन्त्री गुरुङले एमाले सांसदको मात्रै २७ मत पाएका थिए । विपक्षमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादी पार्टीका २ गरी ३० सांसदले मत हालेका थिए ।
यसरी हेर्दा विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई यसअघि नै सरकारको नेतृत्वका लागि अघि सारिएको छ । संविधानको धारा १६८ (५) बमोजिम पोखरेल आजै मुख्यमन्त्री नियुक्त हुने सम्भावना रहेको बताइएको छ ।
जनमोर्चाले सांसद थापालाई कार्बाही गरीसकेको र स्वतन्त्र सांसद दीपक मनाङेले पनि बिपक्षीलाई साथ दिने संकेत देखिएकाले अब पोखरेलको नेतृृत्वमा सरकार बन्ने लगभग निश्चित बनेको छ ।
