एमाले भित्र केन्द्रमा अध्यक्ष ओलीले झलनाथ खनाल, माधव नेपाल लगायतका नेतालाई कार्बाही गर्दै आफ्नो दबदबा बनाए पनि सुदुरपश्चिममा भने ओलीलाई संकट पैदा भएको छ । ओली समुहको स्थायी समितिको बैठकले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै निर्देशन दिए पनि त्यसको पालना गर्नुको साटो उल्टै सरकारलाई समर्थन दिई सरकारमा सामेल समेत भएको थियो खनाल नेपाल समुह ।
सुदुरपश्चिम प्रदेशमा २४ एमाले सांसद मध्य ७ जना मात्र ओली समुहमा लागेका छन् । बाँकी १७ जना खनाल नेपाल समुहमा छ । यही प्रभावका कारण आज मुख्यमन्त्री माओवादीका त्रिलोचन भट्टले विस्वासको मत पाएका थिए । एमाले संसदयि दलको बैठकले भट्टलाई विस्वासको मत दिने निर्णय गरेको थियो । तर ओली समुहमा रहेका सात सांसदले आज बिपक्षमा मतदान दिए ।
यसरी विपक्षमा मतदान दिने सात सांसदलाई संसदीय दलले २४ घण्टे पूर्जी जारी गरेको छ ।
सांसदहरु रतन थापा, नेपालु चौधरी, लिलाधर भट्ट, पठानसिंह बोहरा, माया तामाङ, बलदेव रेग्मी र ग्याल्बोसिंह बोहराले मुख्यमन्त्री भट्टको मतको विपक्षमा मतदान गरेका थिए । दलका नेता शाहले उनीहरु सबैलाई स्पष्टीकरण माग्दै पत्र पठाएका हुन् । पत्रमा संसदीय दलको विधान एवं दलको ह्रवीप उल्लंघन गर्नुको कारण सोधेका छन् । निर्धारित समयभित्र जवाफ नआए विधानबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।