विपक्षी पाँच विपक्षी राजनीतिक दलहरूले ढुंगा, गिट्टी र बालुवा निकासी गर्न चुरे क्षेत्र लगायतको उत्खनन् गर्ने घोषणा राष्ट्रघाती र जनघाती रहेकाले तत्काल खारेज गर्न माग गरेको छ।
शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी काँग्रेस, माओवादी केन्द्र, एमाले माधव समुह, जसपा यादव समुह र जनमोर्चाले उक्त माग गरेका हुन् ।
यसले तराईलाई मरुभूमिकरण गर्ने भन्दै विज्ञप्तिमा यस्तो माग गरिएको हो ।
बजेटको घोषणाले त्यहाँका जनतालाई बाढी, डुबान र पानीको श्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई जोखिमयुक्त बनाउने दलहरूको ठहर छ।
‘बजेट घाटा पूर्ति गर्ने भ्रम छर्दै सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘वस्तुतः यो सत्ता टिकाउनका लागि कसैलाई रिझाउने र राष्ट्रिय स्रोतलाई निहित स्वार्थ साधनका लागि दुरुपयोग गर्ने राष्ट्रहितविरोधी निर्णय हो। यस्तो निर्णयको भर्त्सना गर्दै तत्काल हामी खारेज गर्न माग गर्दछौं।’
पाँच राजनीतिक दल कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेको तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेलले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
यस्तै सर्वोच्चमा प्रतिनिधि सभा विघटनको मुद्धा चल्दा चल्दै पनि मन्त्रीपरिषद् पुनर्गठन गर्नु असंवैधानिक भएको ती दलहरुको ठहर छ ।