काठमाडौँ जेठ २२ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले सञ्चालन गरिरहेको आन्दोलन नेपाललाई विखण्डन गर्ने उदेश्यमा भएको बताएका छन् ।
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीको शपथ र पदभार ग्रहण गरेपछि महतोले आफ्नो बहुल राष्ट्रिय राज्य स्थापनाको लागि तयारी गर्ने काम अगाडि बढाउँदै जाने र त्यसैको तयारीका लागि सरकारमा आएको बताएका थिए ।
गौतमले आज सामाजिक सञ्जाल फेसबुकमार्फत महतोको योजना नेपाललाई विभाजन गर्ने रहेको उल्लेख गरेका छन् ।
ुराजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्रजीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ,गौतमले लेखेका छन् ।
नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनी शपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको भन्ने अभिव्यक्तिको अन्य नेताले पनि विरोध गरेका छन् ।