जेठ २२, काठमाडौं । सत्तारुढ नेकपा एमालेको माधव नेपाल पक्षले स्थायी कमिटीको बैठक बोलाएको छ । आज दिउँसो १ बस्ने बैठकमा नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु सहभागी हुने छन् ।
केन्द्रीय कमिटीको दुई दिने बैठकलगत्तै नेपाल पक्षले आज स्थायी कमिटीको बैठक बोलाएको हो। बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने नेपाल पक्षीय एक नेताले जानकारी दिए।
बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो।
२०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउनुका साथै ओलीले प्रतिनिधिसभा विघटनप्रति आत्मलोचना गर्नुपर्ने अडान सो समूहका केन्द्रीय सदस्यहरुको छ । नेपाल पक्षले नयाँ शर्त अघि सारेपछि ओली पक्षले अस्वीकार गरेको दाबी एमाले प्रमुख सचेतक विशाल भट्टराइले गर्नुभएको छ ।
अध्यक्ष ओलीले नेपाल पक्षका प्रमुख नेताहरुलाई कारबाही गर्न थालेपछि नेपाल पक्ष ओलीसँग कुनै पनि हालतमा सम्झौता गर्ने मनसायमा देखिदैन । तर पछिल्लो चरणमा संस्थापक पक्ष नेपाल पक्षका थप नेताहरुलाई तत्काल कारबाही नगर्ने निश्कर्षमा पुगेको छ । ओलीको रणनीतिक चाल बुझेका नेताहरु फागुन २८ का निर्णय खारेज र जेठ २ को पार्टी कमिटी क्रियाशिल गर्न प्रतिवद्धता ओलीले जनाए पार्टीमा सहकार्य हुने बताइएरहेका छन् ।