काठमाडौँ, १९ जेठ । नेकपा (एमाले)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठक स्थगित भएको हो ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङ्ले बैठकबारे थप गृहकार्य गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।
पार्टीको आन्तरिक विषयमा छलफल गर्न बैठकको आयोजना गरिएको थियो ।संस्थापन पक्षले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ नेतालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेपछि एमालेको आन्तरिक विवाद विभाजनउन्मुख बनेको छ ।
शीर्ष नेताहरुसँग एकताको सम्भावना कमजोर रहेको निष्कर्षसमेत निकालेको संस्थापनपक्ष सकेसम्म धेरै भन्दा धेरै नेता कार्यकर्ता आफ्नै समूहमा राख्ने योजनामा छ । त्यसैले दोस्रो तहका नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहित १२ जना तत्कालीन सांसदलाई स्पष्टिकरण सोधेपनि उनीहरुमाथि कारबाही रोकिएको छ ।
२ जेठमा फर्कने वा फागुन २३ पछिका निर्णय कार्यान्वयन गरेर जाने भन्नेमा एमालेमा विवाद छ । एकतालाई बचाइराख्न केही दिन यता दोस्रो तहका नेताहरुको संवादमा जुटेका छन् । यस्तै पछिल्ला अनौपचारिक छलफलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली जेठ २ फर्कन सकरात्मक बनेको बताइएको छ ।