१९ जेष्ठ, काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप आउँदो २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई लगाईने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुदानमा आएको खोप आउँदो २५ गतेदेखि लगाइने छ । नागरिकले खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्नेछ ।
चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये नौ लाख डोज खोप हिजो काठमाण्डौ आइपुगेको हो । एक लाख डोज आज आइपुग्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनफिङले अनुदानमा खोप दिने घोषणा गर्नुभएको थियो ।
चीनले नेपाललाई दोस्रो पटक दिने वाचा गरेको १० लाख डोज खोपमध्ये मंगलबार ९ लाख ८ सय डोज काठमाडौं आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार त्यसमध्ये ८ लाख खोप नेपाल एयरलाइन्सले बेइजिङबाट ल्याएको हो । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले उपलब्ध गराउने भनेको २ लाख खोपमध्ये मंगलबार बिहान ५० हजार ४ सय र बेलुकी ५० हजार ४ सय गरी १ लाख ८ सय डोज खोप आइपुगेको हो ।