जेठ १८ काठमाण्डौं । अन्ततः सरकारले ३ बर्षदेखि जेलमा रहेका रेशम चौधरीको मुद्धा फिर्ता लिने भएको छ । रेशम चौधरी सहित अन्य नेता कार्यकर्तामाथिको मुद्धा समेत फिर्ता लिन थरुहट थारुवान संघर्ष समितिसँग ६ बुदे सहमति भएको छ ।
कैलालीमा एसपी लक्ष्मण न्यौपाने सहितको हत्या मुद्धासँग सम्बन्धि फैसलाका आधारमा चौधरी डिल्लीबजार कारागारमा रहेका छन् ।
सरकार र थारु कल्याणकारी सभा,थरुहटरथारुवान संघर्ष समितिबीच भएको वार्ताका क्रममा ६ बुँदे सहमति भएको हो । सहमतिअनुसार थरुहट–थरुवान आन्दोलनका क्रममा सहिद भइ राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने,शहिद परिवारको उचित व्यवस्थापन गर्ने,घाइतेको उपचार गर्न सरकार तयार भएको छ ।
संविधानमा उल्लेखित व्यवस्था र अदालतको फैसलाअनुसार राज्यका हरेक तह र तप्कामा थारुहरुको आरक्षणको व्यवस्था तथा सबैखाले थारु समूदायको बारेमा संविधान अनुरुपको ब्याख्या र व्यवस्था कायम गरिने सहमति पनि भएको छ । थारु बाहुल्य क्षेत्रमा थारु शिक्षाको व्यवस्था गर्ने, कमैया, कमलरी संघर्ष समितिले विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्नेलगायतका सहमति पनि भएको छ ।
सहमतिपत्रमा सरकारका तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठसहित राजन भट्टराई र भगवती चौधरीको हस्ताक्षर रहेको छ भने संयुक्त संघर्ष समितिको तर्फबाट रुक्मिणी चौधरी, प्रेमलाल चौधरी,पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द प्रसाद चौधरीको हस्ताक्षर रहेको छ ।

