जेठ १४ धनगढी । एमाले भित्र विवादको प्रभाव स्वरुप सुदुरपश्चिम प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने ओली समुहको निर्णय अस्वीकार गरेको माधव समुहले मन्त्रीलाई स्पष्टीकरण सोधिएको भोलिपल्टै थप सांसदलाई सरकारमा सामेल गराएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठन गर्र्दै माधव समुहका प्रकाशबहादुर शाहलाई आर्थिक मामिला तथा योजना मन्त्री, दीर्घ सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्री, पूर्णा जोशीलाई सामाजिक विकासमन्त्रीमा नियुक्त गरेका छन् । नेपाल पक्षकै चुनकुमारी चौधरी, मनाकुमारी साउद र अर्चना गहतराज राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र)बाट मानबहादुर धामी उद्योग, वन वातावरण तथा पर्यटनमन्त्री नियुक्त भएका छन् भने माओवादी केन्द्रकै मानबहादुर सुनार राज्यमन्त्री बनेका छन् ।
नेकपा एमालेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिए पनि प्रदेश संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो यसलाई लिएर एमालेमा विवाद भइरहेका बेला मुख्यमन्त्री भट्टले मन्त्री हेरफेर गरेका हुन् ।
यस अघि माधव समुहले नै कर्णालीमा पनि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगाएको थियो ।