काठमाडौं, जेठ ११ । सरकार बिरुद्ध गठबन्धन बनाएका बिपक्षी दलका नेताहरुको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।
सोमबार नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त र प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको हो ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा जारी बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन् ।
राष्ट्रपतिले सरकारको सिफारिसमा शुक्रबार मध्यरात प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गर्नुभएको थियो ।
विघटनबिरुद्ध विपक्षी गठबन्धनले बहुमत सांसदहरुको हस्ताक्षरसहित हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । उक्त मुद्धाको पेशी आगामी शुक्रबार तोकिएको छ ।
बुधबार बुद्धजयन्तीको अवसरमा सार्वजनिक विदा तथा बिहीबार संवैधानिक इजलास बस्ने नगरेकाले शुक्रबार मात्रै सुनुवाइ हुने भएको हो ।
१ सय ४६ सांसदको रिटसहित ९ वटा रिटको पहिलो पेशी शुक्रबारमात्रै हुने अदालत प्रशासनले बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमविरुद्ध प्रतिनिधिसभाका बहुमत सांसदले सोमबार सशरीर अदालतमा उपस्थित भएर रिट दायर गरेका हुन् ।
अदालतले के फैसला गर्ला र फैसला आफूहरुको पक्षमा नआए सरकार बिरुद्ध कसरी अघि बढ्ने भनेर विपक्षी दलहरुले रणनीति बनाउनेछन् ।