जेठ १० काठमाण्डौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अभियान्ता डा. गोविन्द केसीले आफ्नो अभियानका प्रचार संयोजक प्रितम सुवेदीलाई झापा विएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले धम्की दिएको बिषयमा गंभीर आपत्ति जनाएका छन् ।
हाल यमनमा रहेका डा. केसीले उतैबाट विज्ञप्ति जारी गर्दै ओलीबाट संरक्षित मेडिकल माफियाका नाईकेद्धारा अभियानका मिडिया संयोजकलाई धम्की दिईएको भन्दै भत्र्सना गरेका छन् ।
केसीले ‘माफिया’ले सञ्चालन गरेको मेडिकल कलेजलाई जबरजस्ती अवैध सम्बन्धन दिए नेपाल फर्कनासाथ सत्याग्रह सुरु गर्ने चेतावनी पनि दिए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगबाट जबर्जस्ती अवैध निर्णय गराउन खोजेको आरोप लगाउँदै सम्बन्ध दिए सत्याग्रह सुरु गर्ने बताएका हुन् ।
‘प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दुषित स्वार्थपूर्तिका खातिर कानून बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दूरुपयोग गर्ने कार्य गर्दै आएको कुरा नौलो होइन ।’ डा. केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
केसीले प्रधानमन्त्री ओलीलाई झापा घटनामा भएको ९ जनाको हत्याकाण्डको मुख्य योजनाकारको संज्ञा दिए। ओलीले उनी २०२८ साल देखि २०२९ साल सम्म झापाका ग्रामिण कृषक, समाजसेवी र सर्वसाधारण गरी नौ जना व्यक्तिको हत्यामा संलग्न भएको अदालतले समेत पुष्टि गरेको केसीले उल्लेख गरे ।
केपीशर्मा ओली धर्मप्रसाद ढकाल, ज्ञानप्रसाद ढकाल, बुटन चौधरी, विष्णुप्रसाद विमली, रुद्रकान्त राजवंशी, ईश्वरी चुडाल, दुर्गा खरेल, ज्ञान बहादुर बस्नेत, कर्ण बहादुर गौतमको हत्यामा संलग्न व्यक्ति हुन् । अदालतले समेत व्यक्ति हत्याको घट्नामा संलग्न भनी हत्यारा ठहर गरेको व्यक्तिलाई शासन सञ्चालनको जिम्मेवारीमा पुग्न दिनु हामी नेपाली जनताको पनि दुर्भाग्य हो केसीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।