अहिले सरकार गठन र विघटनमा विभाजित जस्तो बनेर कोही ओली समुहतिर कोही बिपक्षी गठबन्धनतिर सामेल जसपा भित्रको दुबै खेमाले एक अर्कालाई कार्बाहीको चेतावनी र स्पष्टीकरण लिने क्रम जारी छ ।
यसले पूर्व राजपा र संघीय समाजवादी मिलेर बनेको जसपा लामो समय एक जुट हुन नसक्ने संभावना बढीरहेको सोही पार्टीका नेता सांसदको चिन्ता छ ।
ओली सरकारलाई विस्वासको मत दिने कि नदिने भन्ने विषयमा विभाजित जसपाका नेताहरु मध्य ठाकुर र महतो समुह ओलीको पक्षमा लागिरहेका छन् भने भट्टराई र यादव समुह ओली बिरुद्धको गठबन्धनमा सामेल छन् । यही कारण जसपा विवादित र विभक्त हुँदै गएको छ ।
कहिले संसदीय दलको नेता हेरफेर गर्ने, कहिले एक अर्कोलाई स्पष्टीकरण सोध्ने जस्ता कुराले जसपा विभाजनको डिलमा पुगेको छ ।
अब पुनः ठाकुर महतो समुह ओलीसँगै चुनावी सरकारमा सामेल हुने तरखर गरिरहेका बेला यादव समुहले भने सरकारमा सामेल हुनेलाई स्वतः कार्बाही गर्ने चेतावनी दिएको छ ।
सो पार्टीका प्रचार(प्रसार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी गरिएको विज्ञप्तिअनुसार पार्टी विरोधी गतिविधिमा संलग्नताबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारवाही प्रकृया अगाडि बढाउने निर्णय गरिएको छ ।
पार्टीको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले जसपाको नीति, सिद्धान्त, विचार, एजेण्डा, विधान र कार्यदिशा विपरित कार्य गर्दै गराउँदै हिँडेका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने निर्णय समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले पार्टीको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय समेत गरेको विज्ञप्तिमा जनाइएको छ । कार्यकारिणी समितिले पार्टी संसदीय दलको विधान अनुमोदन नगरेको हुँदा कुनै अमूक व्यक्ति संसदीय दलको नेता भएको अफवाह विल्कुलै झुठो रहेको उल्लेख गर्दै लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य हुने गरी कुनै कार्यदल पार्टीमा नबनाइएको समेत विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ ।
उता आजै महन्त ठाकुरले उपेन्द्र यादवसँग स्पष्टीकरण सोधेका छन् ।
यो संकटले जसपा फुट्ने कि जुट्ने भन्ने चिन्तामा नेता कार्यकर्ता रहेको देखिन्छ ।