पर्सा बीरगञ्ज । पर्सामा कोरोना संक्रमित बिरामीहरु को उपचारको नाममा निजी अस्पतालले मिटर को बियाज जस्तै लुट्ने काम गरिरहेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको अवस्थामा निजी अस्पतालहरुले कोरोना बिरामी उपचारको नाममा सर्वसाधारण जनतासँग लाखौं रकम असुदै आइ रहेको तथ्य बाहिरिएको छ ।
पर्सामा सरकारी अस्पतालको रुपमा रहेको नारायणी अस्पतालले मात्रै कोरोना संक्रमितहरुको उपचार धान्न नसकेपछि निजी अस्पतालहरुमा उपचार गराउन पुगेकाहरुलाई अस्पताले मिटर को ब्याज जस्तै शुल्क देखाई एकजना विरामीसँग १ देखि ५ लाख रुपैयासम्म असुल्ने गरेका छन् ।
वीरगञ्ज–१४ बहुअरीस्थित स्पर्श मल्टी स्पेशलिटी हस्पिटलले कोरोना संक्रमितको तीन दिनको उपचारका लागि ६९ हजार ४ सय १० रुपैया असुलेको छ । अस्पतालले आईसीयूको एक दिनको शुल्क १५ हजार रुपैयाँको दरले ३ दिनको ४५ हजार, आइसुलेशन वार्डको १५ सयको दरले ४५ सय, एकदिनको अक्सिजन चार्ज २५ सयलगायत विभिन्न शुल्कको नाममा संक्रमितलाई ३ दिनमा ६९ हजार ४ सयको बिल थम्याएको छ ।
यस अस्पताल केही महिना अघि मात्रै सञ्चालनमा आएको हो, भने यसको सञ्चालक डा। महेश्वर कुर्मी हुन् । त्यस्तै, समाजसेवीको ‘उपमा’ पाएकी डा। लक्ष्मी थापाको ‘प्रभु’ अस्पताल पनि महामारीमा नटवरलाल प्रमाणित भएको छ । बेला बेखत आफूलाई समाजसेवी बताउँदै विभिन्न कार्यक्रममा सम्मान थाप्दै आएकी डा। थापाको अस्पताल ‘प्रभु अस्पताल’ ले कोरोना संक्रमित उपचारको नाममा ८ दिनको बसाईमा १ लाख ९६ हजार ७ सय असुलेको छ ।
अस्पतालले संक्रमितलाई उपचारपश्चात दिएको बिलमा सि।नं। १ मा बेड शुल्क फ्रि भनिएको छ भने त्यही सि।नं। ७ मा बेड शुल्क भनेर ५४ हजार रुपैया असुली गरिएको छ । यसैगरि ८ दिनको अक्सिजन शुल्क १ लाख १ हजार रुपैया असुलेको छ भने नर्सिङ्ग केयर ९ हजार, नेबुलाइजेशन ५ हजार २ सय, डाक्टर राउण्ड शुल्क १८ हजार ५ सय, कोभिड किट १३ हजार ५ सय र भर्ना शुल्क २५० रुपैया गरि २ लाख १ हजार ४ सय ५० रुपैयाँमध्ये ४ हजार ७ सय ५० रुपैया छुट गरि १ लाख ९६ हजार ७ सय रुपैया असुली गरेको छ ।

यो त उदाहारणको पात्र मात्रै हो, वीरगञ्जमा च्याउ जस्तै रहेका निजी अस्पतालहरुले वर्तमान महामारीको बखत उपचारको नाममा कसरी बढी भन्दा बढी असुली गर्न सकिन्छ भन्ने मनसाय मात्रै बनाएको देखिन्छ । पहिला बेड खाली नरहेको भनेर भर्ना नै नलिने, लिएपनि एक दिनको बेड शुल्क १० देखि १५ हजार लिने सहमति गर्ने, त्यसमा पनि पहिला नै ५० हजारदेखि १ लाखसम्म डिपोजिट गराईलिने जस्ता घृणित कार्यहरु गर्दै आएका छन् ।
बखत यहाँका निजी अस्पतालहरुले उपचारको नाममा सर्वसाधारणलाई लुट्ने, ठग्ने जस्ता कार्यहरु गर्दै आएका छन् । यसबारे पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले निजी अस्पतालले बढी पैसा लिएको भन्नेबारे व्यापक गुनासो आएकोले बुधबार ९आजै० सम्पन्न डीसीसीएमसीको बैठकबाट यसबारे विशेष छलफल भएको बताए ।
उनले छलफलको क्रममा जिल्ला प्रशासनसहित विभिन्न निकायका प्रतिनिधिहरुको टोली निजी अस्पतालहरुको अनुगमन गर्ने, उपचारमा लापरवाही भए एवं बढी पैसा लिएको प्रमाणित भए तत्काल निर्देशनसहित कारवाही प्रक्रिया अगाडि बढाइने बताइने निर्णय भएको बताए ।
कोरोना संक्रमितहरुको उपचारको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग सम्झौता भएका अस्पतालले मात्रै निःशुल्क उपचार गर्ने एवं अन्य निजी अस्पतालहरुले यसको मापदण्डभित्र रहेर उपचारको शुल्क लिने नियम रहेको भएतापनि यहाँका केही निजी अस्पतालहरुले बढी पैसा असुलेकोले सकेसम्म भोलिबाटै अनुगमन कार्य शुरु गरिने बताए ।
