जेष्ठ ४, काठमाडौँ । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो निर्वाचित भएको पत्र संघीय संसद् सचिवालयमा दर्ता भएको छ ।
अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर रहेको संसद् सचिवालयमा दर्ता भएको हो । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच पार्टीभित्रको विवाद समाधान गर्न ८ बुँदे सहमति गर्नुका साथै संसदीय दलको नेतामा महतोलाई चयन गरिएको हो ।
वैशाख ३० गते बसेको पार्टीको संसदीय दलको बैठकले दलको नेतामा महतोलाई निर्वाचित गरेको पत्रमा लेखिएको छ । वैशाख ३० गते बसेको जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा मा. श्री राजेन्द्र महतोलाई निर्वाचित गरेको व्यहोरा जानकारी गराइन्छ । संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि यसै पत्र साथ संलग्न गरिएको छ, सचिवालयमा पुगेको पत्रमा भनिएको छ ।
तर संसदीय दलको नेतामा महतोलाई एकपक्षीय ढंगले निर्वाचित गरिएको भन्दै अध्यक्ष उपेन्द्र यादव पक्षले भने विरोध जनाएको छ । यादव पक्षका सांसदले मोहम्मद इस्तियाक राईले अध्यक्षद्वयबीच एकता भएपछि त्यस्तो पत्र संसद् सचिवालयमा दर्ता गराउनुले पार्टी एकता भाँड्ने शक्ति लागेको भन्ने देखिएको बताएका छन् ।
पार्टीभित्र पछिल्लो समय देखिएको सहमति भाँड्न लागेका व्यक्तिहरूलाई छानबिन गरेर कारबाही गर्नुपर्ने यादव पक्षको माग छ ।
यसअघि अध्यक्ष ठाकुरले आफ्नो पक्षमा सांसदहरूको संख्या कम भएपछि सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय पहिल्यै महतोलाई संसदीय दलको नेता बनाउने आश्वासन दिएर आफ्नो पक्षमा पारेका थिए । सोही आश्वासन अनुसार वैशाख ३० गते ठाकुर पक्षका सांसदहरू बसेर महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरेका थिए ।