जेष्ठ १ काठमाण्डौं । कोरोनाको बढ्दो कहरका कारण राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । राप्रपाका अध्यक्षत्रय सहितको आज बसेको बैठकले कोभिड–१९ महामारी भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने सो पार्टीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैठकले कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ ।
कोभिड–१९ संग जुधिरहेका आम जनताको सेवामा सुरक्षित रहि परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई सो पार्टीले यस्तै पार्टीको निर्देशन समिति ५ दिन भित्र गठन गर्ने निर्णय समेत भएको पार्टीका केन्द्रीय कार्यालय प्रमुख भास्कर भद्रा र ध्रुव बहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।