३० बैशाख,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भईएको छ ।
देउवालाई भेट्न प्रचण्ड उहाँको निवास बूढानीलकण्ठ पुग्नुभएको हो । अहिले उहाँहरुबीच छलफल भईरहेको छ ।
यसअघि देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको थियो । ठाकुरसँगको भेटमा सो पक्षले नयाँ सरकारको नेतृत्व आफ्नो पक्षले गर्ने बटमलाईन राखेपछि देउवाले प्रचण्डसँग छलफल गर्नुभएको हो ।
कांग्रेस, माओवादी र जसपा उपेन्द्र यादव समूहले विपक्षी गठबन्धनको तयारी गरेका छन्।
उता, एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पनि पार्टी भित्रको विवाद समाधानका लागि आज बिहानैदेखि छलफललाई तीब्रता दिनुभएको छ । ओलीले आज बिहान अर्थमन्त्री विष्णु पौडेल छलफलका लागि माधव नेपाल निवास कोटेश्वर पठाउनुभएको थियो । त्यसलगत्तै बसेको एमालेको स्थायी कमिटीले नेपाल सहित नेपालको समूहका ४ जना नेताको कारबाही फिर्ता लिएको थियो ।
तर नेपाल पक्षले आफ्नो माग पुरा गर्न आज अपरान्ह सम्मको अल्टिमेटम दिएको छ । माग पुरा नभए राजीनामा दिने तयारी गरेपछि ओलीले माधव समूहको राजीनामा रोक्न प्रयास स्वरुप अहिले नेता नेपालसँग बूढानीलकण्ठमै छलफल गरिराख्नुभएको छ ।
प्रधनमन्त्री केपी ओलीले संसदमा वैशाख २७ गते विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको थियो ।
संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका निम्ति दलहरूलाई साँझ ९ बजेसम्मको समय छ। राष्ट्रपति भण्डारीले दलहरूलाई दिएको समय घर्किँदै जाँदा छलफल तीव्र बनेको हो।
गठबन्धन सरकार निर्माण असफल भएमा संविधानको धारा २०७६ को उपधारा ३ को प्रक्रिया सुरु हुनेछ। जसअन्तर्गत ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा ओलीले नै प्रधानमन्त्रीको नेतृत्व गर्नेछन्।
सभापति देउवाले आजै अपरान्ह ४ बजे पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।