पार्टीका सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजित, नेपालसहित चार नेताको कारवाही फुकुवा

पार्टीका सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजित, नेपालसहित चार नेताको कारवाही फुकुवा

  • बिहिबार, बैशाख ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ, ३० वैशाख ।  नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका सम्बन्धमा आवश्यक निर्णय लिन अधिकार प्रत्यायोजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै जानकारी दिनुभएको छ ।
उहाँका अनुसार बैठकले नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई गरिएको निलम्बनको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ । उहाँले पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दै एकताको रक्षाका लागि विगतका सबै तीता कुरा बिर्सिएर अगाडि बढ्ने जनाउँदै सो प्रयोजनका लागि पार्टी नेताहरुको कारवाही फुकुवा गरिएको बताउनुभयो ।
पार्टी एकताको बृहत्तर हितलाई ध्यानमा राखेर आवश्यक कदम चालिने र असन्तुष्ट पक्षसँंग वार्ता गरिने जानकारी उहाँले दिनुभयो । उहाँले भन्नुभयो, “आफ्नै नेतृत्वको सरकार ढालेर विपक्षको सरकार बनाउनका निम्ति कारक नबन्न सबैलाई आह्वान गरिएको छ ।”
यसैगरी बैठकले पार्टी केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोभिड– १९ को सङ्क्रमणका कारण भएको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रवक्ता ज्ञवालीले उहाँको निधनबाट पार्टीले एक असल नेता र दोलखालीले अब्बल जनप्रतिनिधि गुमाएको बताउनुभयो । बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै चौलागाईंको सम्मानमा पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाइने निर्णय गरेको छ ।
यसैगरी बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस महामारीको पछिल्लो जटिलावस्था र यसको सामना गर्न सरकारले चालिरहेका कदमका सम्बन्धमा जानकारी दिनुभएको थियो । बैठकले अक्सिजनको पर्याप्तता, प्रभावकारिता र नियमित आपूर्ति, खोपलगायत जीवनरक्षक औषधिको प्रबन्ध, अस्पतालको पूर्वाधार विस्तारलगायत कामका लागि राज्यको सम्पूर्ण शक्ति परिचालन गर्न र मित्र राष्ट्रबाट आवश्यक सहायता जुटाउनका लागि थप कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको उहाँले जानकारी दिनुभयो ।
बैठकले कोभिड महामारीको अझ तयारी गर्न र अक्सिजनलगायत आवश्यक सामग्री आपूर्ति गर्नका लागि राज्यका सबै संयन्त्र प्रयोग गर्न सरकारलाई सुझाव दिएको उहाँले जानकारी दिनुभयो ।माधव नेपालसहित चार नेतालाई गरेको कारबाही फुकुवा गर्ने एमालेको निर्णय (निर्णयसहित)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ