बैशाख ३० काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई साताका लागि जारी निषेधाज्ञामा आजबाट थप कडाई गरिने भएको छ ।
आजबाट भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको प्रशासनले जनाएको छ । अब होटल र पार्टी प्यालेसमा पनि विवाह गर्न पाईने छैन ।
घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन पाइने छैन । अत्यावश्यक बाहेकका निजी तथा सरकारी सवै कार्यालयहरु बन्द गरिएको छ ।
आजबाट दैनिक उपभोग्य वस्तु खरिदका लागि विहान १० बजेसम्म उपभोग्य वस्तुका पसलहरु खोल्न दिइएको छ ।
सार्वजनिक र निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।
राष्ट्रिय महत्वका आयोजना र आवसीय सुविधा भएका बाहेक अन्य निर्माण कार्य पनि बन्द गरिएको छ । अन्तर्राष्ट्रिय उडानहरु जेठ १७ गतेसम्म बन्द गरिएको छ ।
उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गरिएको थियो । नेपालका ४ जिल्ला बाहेक सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।