२८ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि सबै राजनीतिक दलहरुसँग वार्ता गर्ने भएको छ। आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले माओवादी केन्द्र र जसपाको सहयोगमा आफ्नै नेतृत्वमा सरकार गठनको दाबी गर्ने निर्णय गरेको हो।
राष्ट्रपतिले तीन दिनको समय दिएर सोमबार संविधानको धारा ७६ को उपधारा २ बजोजिम दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार गठन गर्न आह्वान गरेपछि कांग्रेसले नयाँ सरकार गठनको पहल सुरु गरेको बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
यस्तै आजको बैठकले जसपा अध्यक्ष महन्थ ठाकुरदेखि एमालेको माधव नेपाल(झलनाथ खनाल समूहसँग समेत वार्ता गर्ने निर्णय पनि गरेको छ । नेता पौडेलले बिहीबारसम्म बहुमत सदस्यको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष जाने बताए ।
पदाधिकारी बैठकअघि सभापति देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विपक्षी गठबन्धनको सरकार गठनको विषयमा छलफल गरेका थिए। प्रचण्डसँगको छलफल सकिए लगत्तै पदाधिकारी बैठक बसेको हो।