२८ बैशाख, काठमाडौं । राष्ट्रपतिको आह्वान लगत्तैै नयाँ सरकार गठनबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाइएको हो।
आज दिउँसो ३ बजे कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको देउवाका प्रमुख स्वकीय सचिवमा भानु देउवाले जानकारी दिए। आजको बैठकमा नयाँ सरकार गठन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।
प्रधानमन्त्री केपी ओली संसद्मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका अध्यक्षहरूले बहुमतीय सरकार गठनका लागि प्रक्रिया अघि बढाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका थिए। संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दा उनको पक्षमा ९३ मतमात्रै आएको थियो। विश्वासको मत नपाएपछि स्वतः प्रधानमन्त्री ओली पदमुक्त भएका छन्।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कामय छन्। यो अंकगणितअनुसार नयाँ सरकारका लागि १ सय ३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ ( २ निलम्बित ) छन्। तीनजना स्वतन्त्र हैसियतमा रहेछन्।