बैशाख २७ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको संसद्को विशेष अधिवेशन आज बस्दै छ । विस्वासको मतमा आजै मतदान हुनेछ ।
संसद्को पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान गरिएको पत्र सभामुखले पढेर सुनाउने र विश्वासको मतका लागि समय तोक्ने कार्यक्रम छ। दोस्रो बैठकमा दलीय आधारमा नेताहरूलाई बोल्न समय दिइनेछ। नेताहरूले बोलेपछि विश्वासको मत लिने प्रस्तावमा मतदान गरिने जनाईएको छ ।
प्रतिनिधिसभा नियमावली, २०७५ मा तोकिएको दिन र समयमा सभामुखको अनुमति लिई प्रधानमन्त्रीले सो सम्बन्धमा आफ्नो वक्तव्य दिई सभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने र विश्वासको मतमा छलफल गर्न सभामुखले समयावधि निर्धारण गर्ने व्यवस्था छ। जसअनुरुप दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो संवोधन गरी विस्वासको मतका लागि प्रस्ताव पेश गर्नेछन् । त्यस पछि सभामुखले प्रधानमन्त्रीले राखेको विस्वासको मतको प्रस्ताव निर्णायार्थ पेश गर्नेछन् ।
विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुने व्यवस्था छ। प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा वर्तमान संसद्मा विश्वासको मतको पक्षमा १३६ मत प्राप्त हुन नसकेमा सभामुखले त्यसको जानकारी राष्ट्रपतिलाई दिनेछन् ।
यदी विस्वासको मत पुगेन भने प्रधानमन्त्रीको पद धरापमा पर्नेछ ।
यसैबीच कोरोना संक्रमित सांसदलाई पनि अलग्गै टेन्टमा राखेर मत हाल्ने व्यवस्था गरिएको छ । संक्रमित सांसदलाई अलग्गै मत दिने स्थानको समेत व्यवस्था गरिएको छ ।
प्रतिनिधि सभाको विघटन, नेकपाको विभाजन सँगै संकटमा परेको सरकारले पहिलो पटक विस्वासको मत लिने कोशिस गरेको हो ।
काँग्रेस, माओवादी केन्द्र र जसपाको आधा हिस्साले प्रधानमन्त्रीको बिपक्षमा मतदान गर्ने र वैकल्पिक सरकार बनाउने यस अघि नै निर्णय गरीसकेका छन् ।