वैशाख २३, काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा वाग्मती प्रदेशको उपनिर्वाचनका लागि गृहमन्त्री रामहादुर थापा उम्मेदवार घोषणा गर्ने भएको छ ।
बालुवाटारमा आज बसेको स्थायी कमिटीको बैठकले राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले उम्मेदवारको जितका आधारबारे छलफल गरि थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
थापा माओवादीबाट निर्वाचित भएर एमाले प्रवेश गरेपछि रिक्त भएको वाग्मती प्रदेशको राष्ट्रिय सभा सिटमा जेठ ६ गते उपनिर्वाचन हुने भएको छ । उक्त सिटमा थापालाई नै उम्मेदवार बनाउने एमालेले यसअघि निर्णय गरेको थियो ।
आजको बैठकले पार्टीको उम्मेदवारको जित सुनिश्चितता हुनेगरी मतदाताहरूसँग छलफल गर्ने र त्यसपछि उम्मेदवारी घोषणा गर्ने निर्णय भएको एमालेका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।
राष्ट्रिय सभा उपनिर्वाचनमा जित सुनिश्चितताका लागि नेताहरूले विभिन्न सुझाव दिएका थिए । मतदातासँग कुराकानी पछि उम्मेदवार घोषणा गर्ने निर्णय भएको उनले बताए ।
वाग्मती प्रदेशको राष्ट्रिय सभा रिक्त पदमा कांग्रेस, माओवादी, एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष तथा जनता समाजवादीको उपेन्द्र यादव समूहले भने खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
प्रधानमन्त्रीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत माग्ने विषयमा पनि स्थायी कमिटीमा छलफल भएको ज्ञवालीले बताए ।