बैशाख २१ काठमाण्डौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । भोली पत्र लेखेर समर्थन फिर्ताको निर्णयबारे जानकारी दिईने जनाईएको छ ।
बैशाख २७ मा प्रधानमन्त्रीले विस्वासको मत लिने भएका कारण माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रतिनिधिसभाको विशेष अधिवेशनको उद्देश्य राम्रो नरहेको माओवादी केन्द्रले निष्कर्ष निकालेको छ ।
मंगलबार पार्टी कार्यालय कोटेश्वरमा बसेको माओवादीको स्थायी समिति बैठकले २७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक आशय र उद्देश्य राम्रो नरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
२७५ सदस्यीय प्रतिनिधि सभामा हाल मतदानमा सहभागी बन्न पाउने सांसद २७१ जना छन् । माओवादीसँग हाल सभामुखसहित ४९ जना सांसद मात्रै छन् भने एमालेका १२१ सांसद छन् । काँग्रेसका ६३ मध्ये २ जना निलम्बित छन् । त्यस्तै, जनता समाजवादीका ३४ मध्ये २ जना निलम्बनमै छन् । साना दलहरूबाट मजदुर किसान पार्टी, राप्रपा र जनमोर्चाका एक–एक सांसद छन् ।