वैशाख २०, बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीबाट मन्त्री नियुक्त भएका दुई जनाले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
समानुपातिक सदस्य कल्पना पाण्डे र समानुपातिककै सदस्य सुमन शर्मा रायमाझीले सपथ ग्रहण गरेका हुन् । पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्री र रायमाझीले भौतिक पूर्वाधार विकास राज्य मन्त्रीमा सपथ ग्रहण गरे । मन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री शंकर पोखरेलले सपथ गराएका हुन् ।
वैशाख ६ गते विस्तार गरिएको मन्त्रिमण्डलमा उनीहरु दुवैजना साविक मन्त्रालयमा थिए । उनीहरुको पदभार ग्रहण पनि सोमबार नै भएको छ । पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै शिक्षा तथा सामाजिक विकास मन्त्री पाण्डेले प्रदेशवासीको हितमा दत्तचित्त भएर लाग्ने र नमुना काम गरेर देखाउने बताइन् ।
आइतबार सपथ गरेका दुईसहित जसपाका ४ वटै मन्त्री प्रदेशसभाबाट निलम्बित भएका छन् । संसदीय दलको विधि र नियम विपरित गएको भन्दै पार्टीको उपेन्द्र यादवको नेतृत्वमा बसेको जसपा कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयबाट पार्टी सदस्य नरहेको र प्रदेशसभाबाट निष्कासित गरेको पत्र पठाएपछि प्रदेश सभाले उनीहरु सदस्य नरहेको सूचना जारी गरेको थियो ।
यद्यपि अध्यक्ष महन्त ठाकुर पक्षले उक्त निर्णय गलत भएको भन्दै कार्यान्वयनमा नलैजान निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । उनीहरु चारैजनाले सर्वोच्च अदालतमा कानुनी उपचारका लागि निवेदन समेत दर्ता गरेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलको ७ सदस्यीय मन्त्रिमण्डलमा हाल मुख्यमन्त्रीसहित एमालेका ३ जना छन् । जसपामा राज्यमन्त्रीसहित ४ जना पुगेका छन् । अरु मन्त्रालय विस्तारै थप्दै जाने मुख्यमन्त्री पोखरेलको भनाई छ ।