२० बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा १ हजार शैयाको अस्थायी कोभिड अस्पताल बनाउन नेपाली सेनालाई निर्देशन दिएका छन्। आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेकोले सेनालाई १ हजार शैयाको कोभिड अस्पताल बनाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिट्री अस्पतालसहित काठमाडौं उपत्यका धेरै शैया भएका ठूला सरकारी र निजी अस्पताल कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने पनि बताए ।
यस्तै कुनै अस्पतालले शैया लुकाएको वा अक्सिजन लुकाएको थाहा पाए कडा कारबाही गरिने पनि प्रधानमन्त्री ओली चेतावनी दिए । प्रधानमन्त्रीले सबै अस्पतालमा अक्सिजनको स्टक राखिने र यसमा कालोबजारी गर्ने वा लुकाउनेलाई कडा कारबाही गरिने समेत बताए।
प्रधानमन्त्रीका अनुसार ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिनेछ। सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइनेछ।