बुटवल, १६ बैशाख । लुम्बिनी प्रदेश सरकारका सहभागी जनता समाजवादी पार्टीका चार प्रदेशसभा सदस्यको पद खारेज भएको छ । आज प्रदेशसभाले सूचना प्रकाशित गरी सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त गरेको जानकारी दिएको हो।
जसपाको केन्द्रीय कार्यकारीणी समितिले राजनीतिक दल सम्बन्धि ऐन, २०७३ दफा ३२ को उपदफा (५) एवम दफा ३४ को उपदफा(१) जसपाको प्रदेश सभा सदस्य तथा पार्टी सदस्य पदबाट निस्कासन गरेको व्याहोरा उल्लेख पत्र आज लुम्बिनी प्रदेशसभा सचिवालयमा दर्ता भएलगत्तै उनीहरुलाई पदमुक्त गरिएको हो ।सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुन् ।
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाले ६ वैशाख दिउँसो अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
त्यही साँझ मुख्यमन्त्री पोखरेलले जसपाका चार जना सांसदलाई मन्त्री नियुक्त गरेका थिए। जसपाका सन्तोषकुमार पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका थिए। पाण्डे, यादव र रायमाझीले अविश्वासको प्रस्तावमा समेत हस्ताक्षर गरेका थिए।
उनीहरूलाई मन्त्रीबाट राजीनामा दिन जसपा प्रदेश समितिले निर्देशन दिँदै स्पष्टीकरण सोधेको थियो। तर उनीहरूले राजीनामा नदिएपछि बुधवार बसेको जसपाको केन्द्रय कार्यकारिणी समितिले उनीहरुलाई प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निस्कासन गरेको हो । नेता उपेन्द्र यादवको नेतृत्वमा बसेको समितिको बहुमत सदस्य सम्मिलित बैठकले उनीहरुलाई कार्वाहि गर्ने निर्णय गरेको पार्टी निकट स्रोतले जनाएको छ ।
सरकारमा सहभागी भएको विषयलाई लिएर जसपामा अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच विवाद भयो । यादव पक्षले उनीहरुलाई कारबाही गर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । तर ठाकुर पक्षले त्यसको विरोध गर्दै आएका थिए ।
पछिल्लो पटक मंगलबार पनि यादव पक्षले कार्यकारिणी समितिको बैठक राखेर उनीहरुलाई कारबाही गर्न माग गरेको थियो । तर ठाकुर पक्ष बैठक बस्नै सहमत भएन ।
