वैशाख १५, काठमाडौँ । चीनले नेपालसहित दक्षिण एसियाका भारत, माल्दिभ्स र भुटानबाहेकका ५ मुलुकहरुसँग मिलेर सहयोग संयन्त्र बनाउने प्रस्ताव अघि सारेको छ । चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीले मंगलबार वेइजिङबाट एक भिडियो कन्फरेन्स गर्दै ‘६ देशीय सहयोग संयन्त्र’ को रुपरेखा अघि सारेका हुन् ।
संयन्त्रमा चीनले नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तालाई समेट्ने प्रस्ताव गरेको छ । उक्त सहयोग संयन्त्र अन्तरगत निःशुल्क सहायता, व्यवसायको लागि खरिद र खोपहरुको उत्पादन र भण्डारण तथा अन्य मुलुकहरुलाई लचिलो तरिकामार्फत् खोप सहयोग प्रवर्धन गर्न इच्छा जाहेर गरिएको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
विदेश मन्त्री वाङ यीले भिडियो कन्फरेन्समा सबै पक्षसँग सल्लाह गरेर चीन–दक्षिण एसिया आपतकालीन आपूर्ति भण्डारण खोल्ने चाहना भएको पनि बताएको सिन्ह्वाले उल्लेख गरेको छ ।
साथै दक्षिण एसियाली मुलुकहरुले कोभिड–१९ महामारीको नयाँ लहर सामना गरिरहेकाले चीनले थप सहयोग गर्ने पनि सहमति जनाएको समाचारमा उल्लेख छ ।
वाङको प्रस्तावलाई अन्य सबै मुलुकका विदेश मन्त्रीहरुले पनि समर्थन गरेको पनि समाचारमा छ ।
अन्य मुलुकका विदेश मन्त्रीहरुले विकासोन्मुख देशहरुमा किफायती दाममा खोपको उपलब्धता सहज बनाउन चीनको प्रयास सरहानीय रहेको बताएका थिए ।तर परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उक्त ६ देशीय ‘सहयोग संयन्त्र’ बारे केहि बताईएको छैन ।
उक्त बैंठक चिनियाँ विदेश मन्त्री वाङले आफ्ना पाँचजना समकक्षीहरुसँग खोपको आपूर्तिलगायत कोरोना भाइरसविरुद्ध लड्न सहयोग सुदृढ गर्न, महामारीपश्चात आर्थिक सुधारलाई बढावा दिन र सबै देशहरुको विकासका लागि ठोस अन्तर्राष्ट्रिय वातावरण कायम गर्न छलफल गरेको जनाएको छ ।
बैठकमा भारतको सहभागीता थिएन । तर मन्त्री वाङले चीन भारतको आवश्यकता अनुसार जुनसुकै समयमा भारतीय जनतालाई सहयोग दिन तयार भएको बताएका थिए ।
मंगलबारको कार्यक्रममा सम्बोधन गर्दै नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ विरुद्ध प्रतिकार्य र आर्थिक पुनरउत्थान गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यमा हुनु पर्नेमा बताएका थिए ।