वैशाख १२, चितवन । ठिमुराको मोटर गुड्ने पुल पुनः भत्कँदा काम गर्दै गरेका एक मजदुर र दुई जना नदीमा बेपत्ता भएका छन् ।चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशुली नदीमाथि बन्दै गरेको पुल भत्किएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बिहान साढे ९ बजेतिर अचानक पुल भत्किदा फर्मा खोल्दै गरेका १० जना मजदुरहरु त्रिशुलीमा बगेका थिए । बगेकामध्ये भारत घर भएका एकजना ४३ वर्षीय मजदुर विजय यादवको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवराज काफ्लेले बताए ।
उनका अनुसार उद्धार भएका ८ जनामध्ये उपचारका क्रममा एकजनाको निधन भएको र अरुको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनले दुईजना मजदुरहरु त्रिशुली नदीमा हराइरहेको र उनीहरुको गोताखोरले खोजी गरी रहेको बताए ।
नदीमाथि मोटर गुड्ने पुल बनाउन ७१ साल कात्तिकमा सम्झौता भएको थियो । तर बनेर नसकिदै गएको चैत २४ गते राति अचानक त्यो पुल कामै नलाग्ने गरेर भत्केको थियो ।
सम्झौता अनुसार ७४ सालको कात्तिकमै पुल बनाउने काम पुरा हुनुपर्दथ्यो । तर पटकपटक गरेर चार पटक म्याद थपे पनि बन्न बाँकी रहँदै पुल कामै नलाग्ने गरेर भत्केको थियो । पुल दुई सय मिटर लम्बाइको छ । कंक्रिटका ४०र४० मिटरका तीनवटा र स्टीलको एउटा ८० मिटरको स्पान पुलमा रहन्छ । चैतमा कंक्रिटको स्पान भत्केको थियो । यो पटक स्टीलको स्पान पनि भत्केको हो ।
अघिल्लो पटक कंक्रिटको जसरी यो पटक फेरि स्टीलको स्पान भत्कँदा मजदुरहरु बेपत्ता भएको र केहीको उद्धार र उपचार भइरहेको खबर आएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।