बैशाख १२ काठमाडौं । नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको आज ६ वर्ष पूरा भएको छ ।
६ बर्ष अघि आजैको दिन बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।
विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो भने १८ हजारभन्दा बढी घाईते भएका थिए । बैशाख १२ गतेको भूकम्पवाट नेपालको १४ जिल्ला अतिप्रभावित बनेको थियो ।
नीजि घर तथा सरकारी भवन गरेर करिब नौ लाख घर तथा भवन काम नलाग्ने गरेर भत्किएको थियो । यता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बैशाख १२ को भूकम्पबाट क्षति भएका निजी अवास क्षेत्रको पुनर्निर्माणको प्रगति उच्च रहेको जनाएको छ ।
अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण शुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १ सय ४ रहेको र उक्त संख्या ९३ प्रतिशत हुने प्राधिकरणले जनाएको छ ।
क्षतिग्रस्त ९ सय २० सम्पदा मध्ये ४ सय ९३ वटाको पुनर्निर्माण सम्पन्न भइकसकेको छ भने २ सय ८८ वटा पुनर्निर्माण भइरहेका छन् । रानीपोखरी र धरहराको पुनर्निर्माण सम्पन्न भईसकेको छ भने सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भागको पूनर्निमाण सकेर सञ्चालन भईसकेको छ ।
केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी संग्राहलय क्षेत्रमा रहेको रणोद्दीप दरबार लगायतका पुरातात्विक महत्वका दरबारहरुको जिर्णोद्धार गर्नेकार्य जारी छ ।
भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ ।