काठमाडौं, १० वैशाख । एमाले नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुलुकलाई अस्थिरता, अराजकता बाट जोगाउन र समिकरणको फोहोरी खेलबाट मुलुकलाई बचाउनका लागि प्रधानमन्त्रीले चालेको कदम अहिले सहि सावित भएको बताउनु भएको छ । प्रधानमन्त्री केपी ओलीले मुलुकलाई दुर्घटनाबाट बचाउन ताजा जनादेशमा जाने निश्कर्षसहित गरेको प्रतिनिधि सभाको संसद विघटन गर्न गरेको सिफारिस सहि सावित भएको र सबैले स्वीकार गरेको बताउनु भएको हो । नेकपा एमाले निकट भोजपुर काठमाडौं सम्पर्क मन्चद्धारा काठमाडौंमा आयोजित पात्रो विमोचन तथा नयाँवर्ष २०७८ को शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उहाँले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई नै पार्टीको न्युनतम बिधि विधान विपरित कार्वाहि गर्ने, निश्कासन गर्ने लगायतका कार्य पार्टीभित्रकै नेताहरुले गरेकाले एमाले र माओवादीको एकता सफल नभएको बताउनु भयो ।
अहिले पनि केहि नेताहरु एमालाई सिध्याउने सड्यन्त्र स्वरुप समानान्तर कमिटि बनाउने लगायतका कार्यक्रम गर्ने गरेको पनि बताउनु भयो । तर त्यस्ता गतिविधि स्वीकार्य नभएको बताउर्दै मुख्यमन्त्री राईले भन्नुभयो, त्यस्ता नेताहरु या त पार्टीबाट बाहिरिनुपर्यो या समाहित भएर पार्टीको बिधिविधानमा रहेर काम गर्नुपर्यो ।
उहाँले अहिलेको संकटपूर्ण अवस्थामा फेरी सबै कार्यकर्ताहरु एक भएर पार्टीभित्र देखिएको समस्यासँग जुध्ने बेला आएको बताउनु भयो ।
सोहि कार्यक्रममा पूर्वमन्त्री तथा सांसद कृपासुर शेर्पाले माधवकुमार नेपाल लगायतका नेताहरु एमालेबाट बाहिरिसकेको बताउनु भयो । उहाँले अब नेपाल पक्षसँग पुन एक भएर अघि बढ्ने अवस्था नभएको भन्दै पार्टी गतिविधि विपरित कार्य गर्नेलाई सम्मान गरेर राख्न नसकिने बताउनु भयो । नेता नेपालतर्फ इंगित गर्दै उहाँले भन्नुभयो, एमाले समुन्द्र हो, समुन्द्रबाट एक घैला पानी निकाल्दैमा असर गर्दैन ।
