७ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको हिउँदे अधिवेशन सरकारले हठात् अन्त्य गराएर निरंकुश र स्वेच्छाचारी कदम चालेको ठहर गरेको छ ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा बैठकको मिति र समय निर्धारित भइसकेको अवस्थामा संसद्को अधिवेशनलाई हठात बन्द गर्ने काम गर्नु सरकारको अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी कदम भएको ठहर गरेको हो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अधिवेशन अन्त्य गर्ने कदमको भर्त्सना गरेको बताए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेकी थिइन् ।
यस्तै बैठकले कोरोना भाइरसको दोस्रो लहर चलेको अवस्थामा सरकार गम्भीर नभएको आरोप लगाइएको थियो । बैठक बुधबार १ बजे फेरि बस्दैछ।
आजको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने आंशका गरिएको भएपनि औपचारिक निर्णय गरेन । बैठकमा वैकल्पिक सरकारको निर्माण, अधिवेशनको अन्त्य र कोरोना संक्रमण रोकथामबारे छलफल भए पनि समर्थन फिर्ता लिनेबारे औपचारिक निर्णय भएको छैन।
नेपाली कांग्रेसले माओवादी निर्णय गरेपछि मात्र वैकल्पिक सरकारको तयारी अघि बढाउन सकिने बताउँदै आएको छ।