जसपाको माग पुरा गर्न सरकार सकारात्मक, २ सय ८ बन्दी रिहाइ हुने

जसपाको माग पुरा गर्न सरकार सकारात्मक, २ सय ८ बन्दी रिहाइ हुने

  • मङ्लबार, बैशाख ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

वैशाख ७, काठमाडौँ । सरकार जनता समाजवादी पार्टी (जसपा)को माग सम्बोधन गर्न सकारात्मक देखिएको छ । दुवै दलका कार्यदलबीचको पटक पटकको वार्ता पछि मधेस र थरुहट आन्दोलनका क्रममा पक्राउ परेका बन्दी रिहाइदेखि संविधान पुनरावलोकन गर्नका लागि आयोग गठन गर्नेसम्मका समझदारीमा सरकार र जसपा पुगेको हो ।
जसपाले उठाएका माग सरकारले पूरा गर्ने र यी विषयमा कुनै पनि लिखित सम्झौता भने नहुने दुवै पक्षले बताएका छन् ।

सरकारले माग पूरा गर्न निरन्तर काम गर्ने र तबसम्म जसपाले कांग्रेस र माओवादी केन्द्रसँग सत्ता समीकरणबारे सल्लाह नगर्ने दुवै पक्षबीच समझदारी रहेको छ ।

सरकारको तर्फबाट नेकपा एमालेका संसदीय दल उपनेता सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेका छन् भने जसपाका तर्फबाट सांसद् लक्ष्मणलाल कर्ण र नेता सर्वेन्द्रनाथ शुक्ला छन् । दुवै पक्षबीचका अधिकांश बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री ओली र जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायत सहभागी हुँदै आएका छन् ।

सरकारको तर्फबाट वार्ता टोलीमा रहेका नेता नेम्वाङले सरकार र जसपाबीचको वार्ता पाँच मुद्दामा केन्द्रित रहेको र ती मागबारे उत्साहजनक रूपमा काम अघि बढिरहेको बताए ।

प्रधानमन्त्री ओलीले सुरुदेखि नै सरकारलाई समर्थन दिन जसपालाई आग्रह गर्दै आएका छन् । उनले सरकारलाई जसपाको समर्थन लिएर प्रतिनिधिसभामा विश्वासको मत लिने योजना बनाएका थिए । तर जसपाले भने आफूले उठाएका माग पूरा नहुन्जेलसम्म सरकारलाई समर्थन दिन नसक्ने जवाफ फर्काएको थियो । त्यसपछि जसपालाई प्रधानमन्त्रीले कांग्रेस र माओवादीसँग सत्ता समीकरणमा नलाग्न भनेका थिए ।

जसपाले उठाएका माग पूरा गर्ने तयारीमा सरकार रहेको जसपाका नेताले बताएका छन् । कार्यदलमा जसपा नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन गर्नका लागि कार्यदल गठन गर्ने, नागरिकताका विषयमा सरकार सकारात्मक रहेको बताए ।

जसपाले २ सय ८ जनालाई रिहाइ गर्नका लागि सरकारलाई सूची बुझाएको छ । २४ मुद्दामा २ सय ८ जनामाथि मुद्दा लागेको र तिनको मुद्दा फिर्ताका लागि जसपाले माग गरिरहेको कर्णले बताए ।

जसपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, आन्दोलनका क्रममा नेतारकार्यकर्तामाथि लागेका मुद्दा फिर्ता गर्नुपर्ने, बन्दी रिहाइ गर्नुपर्ने, संविधान पुनरावलोकन गर्नुपर्ने र नागरिकता विधेयक आफूहरूको सहमतिमा मात्रै पास गर्नुपर्ने माग राखेको छ । यी मागमध्येमा संविधान पुनरावलोकन गर्नका लागि आयोग बनाउन सरकार तयार रहेको बताइएको छ । दुवै पक्षका नेताहरूका अनुसार संविधान पुनरावलोकन आयोग बनाउने र निश्चित समयसीमाभित्र प्रस्ताव तयार पारेर अघि बढाउने समझदारी बन्न लागेको हो । मुद्दा र फिर्ता र बन्दी रिहाइ अबको केही दिनमै मन्त्रिपरिषद्‍बाट निर्णय हुने बताइएको छ ।
ओलीसँग मिलेर सत्ता समीकरण गर्ने कि कांग्रेस माओवादीसँग भन्ने विषयमा जसपाभित्र विवाद छ । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले ओलीसँग कुनै पनि हालतमा सत्ता सहकार्य गर्न नहुने अडान राख्दै आएका छन् । अर्कोतर्फ अध्यक्ष ठाकुर र नेता महतो भने ओलीसँगै मिलेर जान सजिलो हुने पक्षमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ