बैशाख ५ काभ्रे । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले कर्णालीमा राजनीतिक भविष्य सिध्याइदिन्छु भन्ने धम्की दिएकै कारण साथीहरुले उनैलाई सिध्याईदिएको टिप्पणी गरेका छन् ।
काभ्रेमा आफ्नो समुहको कार्यकर्ताहरुलाई संवोधन गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीको शैलीका कारण नै कर्णालीको यो परिणाम देखा परेको दाबी गरे ।
‘कर्णालीमा म हुँ प्रदेश प्रमुख, मुख्यमन्त्री म बन्दैछु, मैले भनेको आदेश नमान्ने हो भने सबैको राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि, ‘मर्ता क्या नै कर्ता’ भनेजस्तो उसैलाई सिध्याइदिए, अहिले उनको बिजोग भएको छ,’ नेपालले भने ।
कर्णाली प्रदेशका मुख्यमन्त्री माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा ‘फ्लोर क्रस’ गरी एमालेका ४ सांसदले मतदान गरेका कारण एमाले नेता यमलाल कडेँल मुख्यमन्त्री बन्न नपाए पछि एमालेभित्रको विवादले थप उग्र रुप लिएका बेला नेपालको यस्तो प्रतिकृया आएको हो ।
पत्रकार महासंघको निर्वाचनमा पनि माधव नेपाल पक्षका मान्छेलाई धक्का दिने दभ्भ राख्दा ओलीको सानो गुटलाई अहिले टर्च बालेर खोज्नु पर्ने स्थिति आएको उनले दाबी गरे ।
यद्यपि, नेता नेपालले पुरानो निर्णय सच्याएर अघि बढेमा आफूहरु मिलेर जान तयार भएको पनि बताए ।
ओली झुटको पुलिन्दा, अराजकताको पर्याय र ध्वंसका बाहक भएको नेपालको आरोप छ ।