५ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै छ ।
नयाँ सत्ता समीकरण र आगामी भदौमा तय भएको १४ औं पार्टी महाधिवेशन, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थपको सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको हो ।
बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि चैत ३० गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण स्थगित भएको थियो ।
यसअघि कांग्रेसले चैत ३० गतेसम्म क्रियाशील सदस्यताका काम सक्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको थियो । तर केही जिल्लाले अझैसम्म क्रियाशील सदस्यता वितरण गर्न फारम नै नपुगेको गुनासो गर्दैआएका छन् ।
सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा भने समायोजनको काम समेत सम्पन्न भएको छैन ।
आजको बैठकमा केन्द्रदेखि प्रदेशसम्मका राजनीतिक घटनाक्रमसहित नयाँ सत्ता समिकरणका बारेमा समेत छलफल हुने पौडेलले जानकारी दिएका छन् ।