४ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा प्रचण्डलाई नबोलाएकोले सहभागी नहुने उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।
शुक्रबार एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच टेलिफोनमा कुरा भएको तर सर्वदलिय बैठकको बिषयमा भने कुरा नभएको उनले बताए ।
दुई पार्टीका अध्यक्षबीच वालुवाटारमा भेटौं भनेर ओलीबाट प्रस्ताव भएको सापकोटाले बताए । प्रचण्डले सिंहदरबारमा बैठक राखे मात्र सहभागी हुने अडान राखेको बुझिएको छ । प्रचण्ड आज राजधानीमै आयोजित एक कार्यक्रममा सहभागी हुनेछन्।
संसद अधिवेशन, कोरोना महामारी लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । तर प्रचण्डसँगै माओवादी नेताहरुले भने सर्वदलीय बैठकबारे पार्टीलाई कुनै जानकारी नभएकोले नजाने भएका छन् । सर्वदलीय बैठकमा कोको जाने हो भन्ने प्रश्नमा माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘कुन मिटिङ ? हामीलाई त कुनै खबर छैन ।’
प्रधानमन्त्री ओलीको आह्वानमा बालुवाटारमा बिहान ११ बजेदेखि बैठक बस्दैछ। बालुवाटार स्रोतका अनुसार संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक विषयमाथि छलफल, कोरोना महामारी रोकथाम र नियन्त्रणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
पछिल्ला दिनमा नेपालमा कोरोना भाइरस ९कोभिड (१९० तीव्ररुपमा फैलिरहेको छ। संक्रमित र मृतकको संख्या दिनप्रतिदिन बढिरहेको छ। सरकारले १४ जिल्लालाई कोरोनाका अति प्रभावित जिल्ला घोषित गरिसकेको छ।