बैशाख २ काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले बिपक्षी दलहरुले आफूलाई हटाउन गरिरहेको प्रयासलाई कमजोर पार्न जसपासँगको वार्तालाई सघन बनाएका छन् । जसपाको समर्थन पाए सत्तामा आफू कायम रहन सकिने भएकाले ओलीले काँग्रेस र माओवादी केन्द्रलाई भन्दा जसपालाई महत्व दिएर छलफल गरीरहेका छन् ।
आज प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्त ठाकुरबीच बालुवाटारमै भेटवार्ता भएको छ ।
बिहीबार दिउँसो दुबै दलले बनाएका कार्यदलका सदस्यसहित उनीहरूबीच वार्ता भएको हो।
यसअघि प्रधानमन्त्री ओलीले जसपासँग कुरा गर्न संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको कार्यदल बनाएका थिए। जसपाको कार्यदलमा सर्वेन्द्रनाथ शुक्ला र लक्षमणलाल कर्ण छन्।
जसपा भित्र पूर्व राजपा ओलीसँग बाक्लो छलफलमा छ भने बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका पूर्व संघीय समाजवादी पार्टीका नेताहरु भने ओलीको विकल्प खोज्नु पर्ने पक्षमा रहेका छन् ।
यसअघि नेताद्वय भट्टराई र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए।