उपकुलपति–रजिष्ट्रारको भ्रष्टाचारमा सरोकारवाला ‘फड्के साक्षी’ बन्दा बिपी प्रतिष्ठानको बिजोग हुँदै !

उपकुलपति–रजिष्ट्रारको भ्रष्टाचारमा सरोकारवाला ‘फड्के साक्षी’ बन्दा बिपी प्रतिष्ठानको बिजोग हुँदै !

  • बुधबार, बैशाख १, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

सुनसरी । सरकारले स्थापना गरेका स्वास्थ्य प्रतिष्ठानहरुमा सबैभन्दा बढी भ्रष्टाचार, अनियमिता र राजनीतिक चलखेल हुने संस्थाका रुपमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पर्दछ । तत्कालिन उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई अख्तियारले रंगेहात घुस रकमसहित पक्राउ गरेपछि प्रतिष्ठान सुधार्न भनी आएका विराट मेडिकल कलेजका सञ्चालक तथा मेडिकल व्यवसायी डा. ज्ञानेन्द्र गिरी पनि डा. रौनियारकै जस्तो ‘उठन्ती धन्धा’ मा सक्रिय छन् ।

तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको चुनाव खर्च व्यहोरेको पुरस्कार स्वरुप वीपी प्रतिष्ठानको उपकुलपति भएपछि उनले भानुभक्त ढकालकै नाम लिएर प्रतिष्ठानमा ठेकेदार, मेडिकल सप्लायर्सबाट मोटो कमिसन उठाइरहेका छन् । ‘काम नगरीपनि हुँदैन, गर्दापनि मोटो रकम बुझाउनुपर्छ । एउटा सानो काम गरेपनि चारैतिर बाट देब्रे हात गर्नेहरु बढि भए ।’ स्थानीय मेडिकल सप्लायर्सको भनाई छ ।

अहिले प्रतिष्ठानको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धान गरी तीन वटै क्षेत्र पूर्ण रुपमा तहस–नहस भएका छन् भने शिक्षक, कर्मचारीको सञ्जयकोष र नागरिक लगानी कोषको सञ्चित १४ करोड रुपैयाँ पनि मासिएको छ ।

विगत चार बर्षदेखि नियम अनुसार बढुवा हुनुपर्ने शिक्षक, कर्मचारीको बढुवासमेत नियमावलीको उल्झन लगाएर स्थगित गरेर राख्दा प्रतिष्ठानमा वर्षौंदेखि काम गरेका दक्ष चिकित्सकहरु धमाधम पलायन भइरहेका छन् । विराटनगर, इटहरी, विर्तामोड देखि जनकपुरसम्मका नीजि क्लिनिक र अस्पतालहरुमा धाउन थालेका छन् ।

अनियमितताको आशंका गरिएको भवनलाई धमाधम भुक्तानी
पूर्वरजिष्ट्रार तुलबहादुर श्रेष्ठ र हालका लेखा प्रमुख कमल रायमाझीको योजनामा तत्कालीन उपकुलपति डा. राजकुमार रौनियारको व्य्िक्तगत सम्बन्धलाई भिडियो बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेश गरी मोरङ जिल्लाका एमाले नेता गुरु बराल मार्फत तत्कालीन अख्तियार प्रमुख नविन घिमिरेलाई सेटिङ गरेर षड्यन्त्रपूर्वक रंगेहात गराएका र प्रतिष्ठानमा कर्मचारी सरह आवास सुविधा लिएर बसेका एक ठेकेदारले निर्माण गरेको होस्टल भवनलाई उपकुलपति डा. गिरी र लेखा प्रमुख रायमाझी मिलेर प्रतिष्ठानको आन्तरिक स्रोतबाट धमाधम भुक्तानी दिइरहेका छन् ।

प्रतिष्ठानमा कार्यरत कर्मचारी चिकित्सकलाई समयमै तलब नदिई विवादास्पद भवनहरुको भुक्तानीमा जोड दिनुमा कमिसनकै खेल रहेको प्रतिष्ठानका लेखा शाखाका एक अधिकृतले बताए । ‘शिक्षक, कर्मचारीलाई समयमै तलब नदिँदा उनीहरुको परीवारमा पर्ने असरका बारेमा पदाधिकारीलाई चासो नै छैन, धमाधम ठेकेदार र सप्लायर्सलाई पहिलो प्राथमिकतामा राखेर भुक्तानी दिइरहेको छ ।’ ती अधिकृत भन्छन् ।

प्रतिष्ठानका उपकुलपतिले कतिपय भुक्तानी आफु अनुकुल हुनेगरी गरिरहेका छन् जसमा रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले आँखा चिम्लेर सदर गर्न थालेका छन् । कमल रायमाझीले एक पदाधिकारीलाई १० लाख रुपैंया नजराना बुझाएर लेखा शाखामा आएको चर्चा अझैपनि प्रतिष्ठानमा छ । रायमाझी प्रतिष्ठानमा ठेकेदार, मेडिकल सप्लायर्सबाट मोटो कमिसन खाने र मिटर व्याजमा पैसा लगाउने व्यक्तिका रुपमा परिचित छन् ।

बढुवा थन्किँदा युनियनका नेताहरुलाई मतलब छैन

विगतका व्यवस्थापनहरुको सानो भुलचुक हुँदासमेत आन्दोलनको आगो बाल्ने प्रतिष्ठानको शिक्षक र कर्मचारी युनियनका नेताहरु अहिले उपकुलपति र रजिष्ट्रारको कारण प्रतिष्ठान जलिरहँदा चैं आगो तापेर बसेका छन् । प्रतिष्ठान र त्यहाँ कार्यरत चिकित्सक शिक्षक र कर्मचारीका संगठनका पदाधिकारी समेत प्रतिष्ठान भित्र भइरहेको अनियमिता र लूटतन्त्रको ‘फड्के साक्षी’ बनिरहेका छन् ।

युनियनका नेताहरु आफ्नै बढुवाको अनुकूल समय, पदाधिकारीहरुसँगको साठगाँठमा लिन सकिने पर्दा पछाडिको फाइदा र कमाउ विभागको सरुवामा अल्झिएपछि पदाधिकारीका काम कारवाहीमा ‘चेक एण्ड व्यालेन्स’ गर्ने कोही भएका छैनन् । आफुहरुले गरेका कुनैपनि काम प्रति कसैले औँला उठाउने अवस्था नभएपछि प्रतिष्ठानका चार पदाधिकारी मध्ये तीन पदाधिकारीहरु धमाधम ठेकेदार, मेडिकल सप्लायर्सहरुको साँठगाँठमा प्रतिष्ठान लूट्न उद्यत छन् ।

‘कर्मचारी युनियन त सेटिङ सिण्डिकेटमा परिणत भइसकेको तीन बर्ष भयो, शिक्षक युनियनको अलिकति आशा थियो तर कर्मचारी युनियनको रोग त्यता पनि सरेको देखियो, प्रतिष्ठानको अचल सम्पत्ति मासिँदा, तलब भत्ता नदिँदा, वृत्तिविकास रोकिँदा र प्रतिष्ठानका सबै अंगहरु ध्वस्त हुँदा पनि उनीहरु मुकदर्शक हुनुमा ठूलै सेटिङको पुष्टि भएको छ ।’ एक अधिकृत स्तकरका कर्मचारीले भने ।

वीपी प्रतिष्ठानका उपकुलपति डा. गिरीले आफ्नो क्वाटरमै आलिसान मदिरालय बनाएको यसअघि नै चर्चा भएको विषय हो । प्रा.डा. गिरी आजकल दिउसै क्वाटरमा बसेर मदिरापान गर्ने गरेको प्रतिष्ठान स्रोतले बतायो । विहान ९ बजे उपकुलपति कार्यालय गएर १ बजेपछि लञ्च आवर हुन्छ । १ घन्टाको लञ्च आवरपछि प्रायः उनी कार्यलय जाँदैनन् । डा. गिरी प्रतिष्ठान आएको एक वर्ष नाघिसक्यो तर, उनले अहिलेसम्म प्रतिष्ठान एक पल्ट राम्ररी घुमेर हेरेका छैनन् । जवकी विगतका पदाधिकारीहरु साताको एकपल्ट अनिवार्य प्रतिष्ठानका हरेक विभागहरु अनुगमन गर्ने, कर्मचारी, शिक्षक तथा चिकित्सकलाई निर्देशन दिने गर्दथे । अहिले उपकुलपतिका ठाउँमा उनका अघिपछि गर्दै करोडौं तलब भत्ता पचाउने स्वकीय सचिबहरुको हालीमुहाली चलेको छ ।

मन्त्रालयले फिर्ता माग्यो एमसिएचको पैसा !

प्रतिष्ठान भित्र निर्माणाधिन ४ सय बेडको विवादास्पद मातृ शिशु भवनको अनियमिततालाई निरन्तरता दिँदै आफ्नो अधिकारमै नभएको अवस्थामा पनि दुई बर्ष म्याद थपेर कार्यकारिणी समितिको जानकारी बेगर ३७ करोड भुक्तानी दिएका उपकुलपति डा. गिरीको कमाउधन्दा देखेर स्वास्थ्य मन्त्रालय समेत चिढिएको छ ।

प्रतिष्ठानको नियमावलीमा कुनैपनि ठेक्काको म्याद थप गर्ने स्पष्ट प्रावधान छ तर, कमिशन खाने नियतले उपकुलपति डा. गिरीले केही समयअघि मात्र सबै प्रावधान मिचेर ३७ करोड भुक्तानी दिइसकेका छन् । प्रतिष्ठानलाई जर्जर बनाएर विराट मेडिकल कलेज पोस्ने हिसाबले उपकुलपति, रजिष्ट्रार र अस्पताल निर्देशकले काम गरेको थाहा पाएपछि प्रतिष्ठानको लेखाशाखा समेतको मौखिक रिपोर्टको आधारमा स्वास्थ्य मन्त्रालयले एमसिएचमा पछिल्लो समय भुक्तान गरेको पैसा फिर्ता माग गरेको छ । ‘प्रतिष्ठानको ऐन नियम अनुसार भुक्तानी भएको नभएको खुलेको छैन, पदाधिकारीहरुले जथाभावी गरेको गुनासो आएपछि एमसिएचमा भएको भुक्तानी फिर्ता ल्याउन भनिएको मन्त्रालयका नीति योजना महाशाखाका एक उपसचिवले बताए ।

पदाधिकारीलाई विएण्डसी अस्पतालको चिन्ता !

वीपी प्रतिष्ठानमा पदाधिकारीलाई आजकल प्रतिष्ठानको भन्दा पनि झापामा दुर्गा प्रसाईंले सञ्चालन गरेको विएण्डसी अस्पतालको ठूलो चिन्ता छ । विएण्डसीलाई प्रतिष्ठान अन्र्तगत सम्बन्धन दिलाउन पाए मोटो कमाई हुने देखेपछि उपकुलपति, रजिष्ट्रार र अस्पताल निर्देशकको ध्यान त्यतापट्टी गएको छ ।

विएण्डसी अस्पतालका सञ्चालक प्रसाई प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकट सम्बन्ध भजाएर प्रतिष्ठानको छाँया उपकुलपति सरह भएका छन् । उपकुलपति गिरीका ज्वाई नाता समेत पर्ने प्रसाईंले उपकुलपति डा. गिरी र रजिष्ट्रार डा. रेग्मीसँग ८ करोडमा डिल गरेर आफ्नो अस्पताल सम्बन्धनका निम्ति वीपी प्रतिष्ठानको साधन स्रोत उपयोग गर्ने सम्झौता गराएको श्रोतको दावी छ ।

‘कुकुर–विरालोको जस्तो झगडा गरिरहने उपकुलपति र रजिष्ट्रार दुर्गा प्रसाइसँगको संगतपछि ‘लैला–मैजनु’ जस्तो प्रेम देखिएको छ, यो उठन्ति धन्दाको सम्बन्ध मुम्बईको कोठीमा देखिने एकघण्टे प्रेमजस्तो मात्र हो ।’ प्रतिष्ठानका एक प्राध्यापकले बताए । विएण्डसीलाई सम्बन्धन दिनकै लागि प्रतिष्ठानको नियमावली समेत संसोधन गर्न उपकुलपति र रजिष्ट्रार सक्रिय रहेको पाइएपछि त्यसको चौतर्फी विरोध भएको थियो ।

रजिष्ट्रारको काम नेताको घर धाउने ?

आफूलाई कट्टर एमाले भन्दै पूर्वका रक्सी व्यापारी र एमाले नेता प्रदीप नेपालका नातेदारलाई प्रयोग गरेर अढाई करोड खर्च गरेर रजिष्ट्रार भएका र उपकुलपतिसम्मको नियुक्तिलाई ७ करोडमा डिल गरेका रजिष्ट्रार डा. रेग्मीभने प्रतिष्ठानको प्रशासनिक कार्यभन्दा नेताको घरघर चहार्न बढी व्यस्त छन् । नेकपा, नेपाली कांग्रेस र जसपा गरी तीन वटै पार्टीको सदस्यता खल्तीमा राखेका डा. रेग्मी धरानभित्र एमाले, मधेशमा जसपा र कोशी नदी तरेपछि कट्टर काँग्रेस भएको दाबी गर्छन् । गएको साता मात्र सपरिवार चितवन आएका उनले त्यहाँ कांग्रेसी नेताहरुसँग ‘सौराहा’को भ्रमण समेत गरे ।

काँग्रेस नेता सुनिल थापा, प्रदीप पौडेल, अतुल कोइराला र सुनसरी काँग्रेसका एक पदाधिकारी लगायतसँग गहिरो हिमचिम रहेको दाबी गर्ने डा. रेग्मी आगामी चुनावपछि काँग्रेस नेतृत्वको सरकार बन्ने सम्भावना देखेपछि अहिले आफू काँग्रेसी भएको प्रमाणित गर्न सम्पूर्ण ससुराली गाउँलाई नै परिचालित गरेका छन् । त्यसका लागि चितवने कांग्रेसीहरुका पाउ मल्न उनी सक्रिय भइरहेका छन् ।

जब घरमा छेपारो छिर्छ, कुनै न कुनै अनिष्ट हुन्छ, प्रतिष्ठानमा पनि राजनीतिक छेपारो छिरेको छ । नकुनै सिद्धान्त, नकुनै वाद, जसको सरकार आयो उसकै पाउमोल्दै कुर्सी जोगाउने मात्र मानसिकता बनाएका पदाधिकारीले प्रतिष्ठान सिध्याउँदा ‘चूँ’
सम्म नबोल्ने धरानका नागरिक समाजको भूमिकामा पनि शंका उब्जिन थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी