१ वैशाख, काठमाडौं । सरकारले १७६ जना बहिर्गमित पूर्वलडाकूसहित ३८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान गरेको छ ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले २०६२–६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपाङ्गगता भएकाहरु र बहिर्गमित पूर्वलडाकूहरुलाई लोकतन्त्रका योद्धाको रुपमा सम्मान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले उनीहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र दिए । तर प्रधानमन्त्रीलाई गाह्रो भएपछि गृहमन्त्री रामबहादुर थापाले खादा लगाइदिए भने उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्मानपत्र दिए ।
उता, २०६२–६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थलाई भने काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दोसल्ला र प्रमाणपत्र प्रदान गरेका थिए भने त्यसको लाइभ भिडियो प्रधानमन्त्री ओलीले अवलोकन गरे ।
लोकतन्त्रका योद्धा अभिलेखिकरण तथा सम्मान समितिका संयोजक समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले योद्धालाई सम्मानको शुरुवात मात्रै गरिएको र ७७ वटै जिल्लामा सम्मानित गरिने जानकारी दिए ।
जिल्लामा भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति’ गठन गरिएको छ ।
कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले केपी शर्मा ओलीको नेतृत्वमा सरकार भएकाले सम्मान सम्भव भएको बताए । उनले यसअघि माओवादी नेतृत्वको सरकार भएको भएपनि यस्तो सम्मान हुन नसकेको बताए ।