पर्सा, २९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गर्नुभएको छ । उहाँले पार्टीभित्र देखिएको गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठक बसी छलफलको माध्यमबाट टुङ्गोमा पु¥याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
प्रेस सङ्गठन नेपाल पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सङ्गठनको विधानअनुसार छलफल गरे समस्याको समाधान खोज्न सकिने बताउनुभयो । उहाँले विगतका तीता अनुभावलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहरु तयार भए पनि पार्टी नेतृत्वको कारण समस्या यथावत रहेको आरोप लगाउनुभयो । एकले अर्कालाई निषेध गर्ने प्रवत्तिले कहीँ नपुग्ने भएकाले वर्तमान समस्याको समाधान वार्ता र संवादबाटै खोजिनु पर्नेमा नेता नेपालले जोड दिनुभयो ।
नेता नेपालले नेता कार्यकर्तामाथि गरिएको कारवाहीले पार्टीलाई कमजोर तुल्याउने बताउनुभयो ।
संसदमा आफूहरु अल्पमतमा रहेकाले केपी ओली सरकारको विकल्प खोज्न नसकेको भन्दै नेता नेपालले नयाँ सरकार गठनका लागि प्रतिपक्ष र विपक्षी दलहरु सबै मिलेर लागे आफूहरुले नरोक्ने पनि प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘सबै प्रतिपक्षी र विपक्षी दलहरु मिलेर ओली नेतृत्वको सरकार हटाउन लागे भने हामी रोक्दैनौं।ु नेता नेपालले आफूहरुको लडाइ पद र सत्ताका लागि नभइ विधि र पद्धतिका लागि भएको बताए।
सर्वोच्च अदालतको फैसलाले नेकपालाई फुटाएर एमाले र माओवादी केन्द्र ब्यूत्याएपछि एमालेलाई एकताबद्ध बनाउन र पार्टीमा शुद्धीकरणका लागि देशभर आफूहरुले अभियान चलाएको उहाँले बताउनुभयो । त्यही अभियान अन्तर्गत जिल्ला जिल्लामा समनान्तर कमिटी गठन गर्दै हिंडेको उनको भनाइ छ। उहाँले केपी ओली एमालेमा एउटा सानो गुटको नेता मात्रै भएको आरोप पनि लगाउनु भयो ।
नेता नेपालले भन्नुभयो, ‘ओलीले खाए खा नखाए घिच् भने जस्तै गरेका छन् तर हामी ओलीको टाङमुनि छिर्न चाहेनौं।’ ओली गुटले आफूलाई कार्वाही गरेको निर्णय कागजमा मात्र सिमित रहेकाले कोही पनि नेता कार्यकर्तालाई नआत्तिन नेता नेपालले आग्रह समेत गर्नुभयो ।
उहाँले पार्टी विधान र विधिबाट चल्नुपर्ने मान्यता राख्ने नेता÷कार्यकर्तालाई कारवाही गरी कम्युनिष्ट आन्दोलनलाई समेत कमजोर पार्ने र मुलुकमा राजनीतिक सङ्कट उत्पन्न गरेको दाबी गर्नुभयो ।