वीरगन्ज (पर्सा), २८ चैत । नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री वा पार्टी अध्यक्ष बन्न नभई कम्युनिष्ट पार्टी बचाउन आफू अघि सरेको बताए । नेपाल कम्युनिष्ट पार्टी एमाले माधव नेपाल समूहद्वारा वीरगन्जमा आयोजित जिल्ला स्तरीय अगुाव कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले आफू परिवर्तकको संवाहक नेता बन्ने दाबी गर्दै आफू कहिलेपनि पदको लोभ लालच नगरेको र पदको लागि नभई सिद्धान्त, सत्य र न्यायका लागि पार्टी कार्यकर्ताको माझमा आएको बताए ।
कतिलाई लागि रहेको होला, कि केपी ओलीको प्रधानमन्त्री खोस्न आफू लागि परेको छ, त्यसो हैन उनी नै प्रधानमन्त्री बनुन्, २० भोटले हारेको अध्यक्ष पनि चाहिँदैन भन्दै नेता नेपालले केपी ओलीसँगको लडाई पदका लागि हैन, सिद्धान्त, सत्य र न्यायका लागि हो, कम्युनिष्ट पार्टीलाई ओली र ओली प्रवृत्तिबाट बचाउनका लागि आफू लागि परेको बताए । केपी ओली पार्टीको पदाधिकारी, केन्द्रिय कमिटि, स्थायी समिति र पोलिटव्युरो कमिटिमा अल्पमत भएका कारण फेस गर्न नसकेर भाग्ने गरेको आरोप समेत लगाए ।
९ औं महाधिवेशन पछि केपी ओली अध्यक्ष बनेपछि पार्टीमा समस्या आउन थालेको उनले टिप्पणी गरे । पार्टीमा प्रश्न गर्ने मानिसलाई कारवाही गर्ने दक्षिणपन्थी विचार बोकेका ओलीले पार्टीलाई विर्सजन गर्ने बाटोमा अघि बढेको आरोप समेत लगाए । ‘राम्रो मान्छेले राम्रो मान्छे खोज्छ, साधुले साधुलाई नै रोज्छ, खराबले खराब मान्छे खोज्छ’ भन्दै नेता नेपालले ‘केपी ओलीसँग कस्तो कस्तो मान्छे छन्, मैले भनिरहनु नै पर्दैन, पार्टीको विकासमा ओली नै बाधक रहेको बताए । सही विचार, सही पार्टी र सही नेतृत्व बनाउन, जनता, सामाज र देशको हित र कल्याण गर्न, इमान्दार कर्तव्यनिष्ठ, सिद्धान्तप्रति प्रतिवद्ध जिम्मेवार कार्यकर्ता बन्न उनले सुझाव समेत दिए ।
त्यसैगरि कार्यक्रममा नेता घनश्याम भुषालले ७० वर्षसम्म नेपालका कम्युनिष्ट पार्टीले गरेको त्याग तपस्या, बलिदान, सहादत, आँसु, पीडालाई तहस नहस पार्ने काम ओलीले गरेको आरोप लगाए । संकल्प आशा र विश्वास थियो, कम्युनिष्ट पार्टीको कुनैदिन बहुमतको सरकार हुन्छ, त्यो सरकारले नेपाली जनताको समस्यालाई समाधान गर्दै देशको विकास गर्छ, तर राजनीतिको तानातानी नसकिएसम्म मुलुकको विकास सम्भव नहुने बताए । एक जना मान्छेले गरेको बदमासीलाई सुधार गर्न र पार्टीको रक्षाका लागि कार्यकर्ता एक जुट हुनुको विकल्प नरहेको बताए ।
माधव नेपाल समूहले ७७ जिल्ला मध्ये ६५ जिल्लामा समानान्तर जिल्ला कमिटि गठन गरिसकेको जनाएको छ । ३२ वटा जनवर्गीय संगठनको पनि समानान्तर जिल्ला कमिटि गठन गर्ने तयारी छ । सोही क्रममा नेकपा एमाले माधव नेपाल समूहले पर्सामा बाल गोपाल थापा अध्यक्ष रहेको समानान्तर जिल्ला कमिटि गरेको छ । कमिटिमा सुदिप लामा, विचारी यादव, प्रद्युमन सेँढाई, शम्भु गुप्ता लगायत १ सय ७५ जना सदस्य छन् ।