काँग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र सहमत भएको छ । आज भएको तीन दलको बैठकमा देउवाको प्रस्तावमा माओवादी नेताहरु सहमत बनेका हुन् । तर जनता समाजवादी पार्टीले भने थप समय माग गर्दै आज निर्णय दिन सकेन ।
आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ थिए भने जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए।
कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा थिए।
पार्टीले सरकार बनाउन ढोका खोलिदिएको एक सातापछि देउवाले आज तीन दलको बैठक राखेका थिए। बैठकको सुरूमै देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव राख्दै अन्य दलबाट समर्थन खोजेका थिए।
देउवाको प्रस्तावमा माओवादी केन्द्रले समर्थन जनाए पनि जसपाले पार्टीमा छलफल गर्नुपर्ने भन्दै समय माग गरेको छ।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै जसपा अध्यक्ष महन्थ ठाकुरले कांग्रेसबाट सरकार बनाउने प्रस्ताव आएको जानकारी दिए । कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे पार्टीमा छलफल हुनै बाँकी रहेको अध्यक्ष ठाकुरको दाबी छ ।