चैत १८, महोत्तरी । महोत्तरी, भंगाहाबाट हराएका सात जना बालिका भारतको सितामढीमा भेटिएका छन् ।
मंगलबार दिउँसोदेखि बेपत्ता भएका उनीहरु भारत, विहारको सीतामढी पुगेको भनी त्यहाँको प्रहरीले नेपाल प्रहरीलाई खबर गरिसकेको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले मिर्मिरे अनलाईनलाई जानकारी दिए । उनले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार सबै किशोरी सकुशल अवस्थामा रहेको र नेपाल फर्काउने तयारी भईरहेको छ।
मंगलबार दिउँसो २ बजे घाँस काट्न भनी गएका भंगाहा नगरपालिका–८ धर्मपुरका १८ वर्षका अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षका अर्चना पासवान र रिया पासवान, १० वर्षका रञ्जना पासवान र सीमा पासवान राति अवेर सम्म घर नफर्किएपछि रातिबाटै प्रहरी र स्थानीय तथा आफन्तले खोजि गरिरहेका थिए ।
बालिकाहरु मंगलबार दिउँसो नजिकै अजगेवा गाउँको खेतमा घाँस काटिरहेको स्थानीयले देखेका थिए । तर उनीहरु घर नफर्किएपछि प्रहरी र स्थानीयले मिलेर रातभर खोजी गरेको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए । अहिले बिहान उनीहरू बिहार पुगेको खबर आएसँगै नेपाल प्रहरीको टोली त्यसतर्फ जान लागेको मेयरसाहले जानकारी दिए ।
सितामढीमा भारतीय प्रहरीले उनीहरुलाई समातेर राखेको साहले बताए ।
सम्बन्धित परिवारलाई भने उनीहरू कहाँ गए भन्ने जानकारी नै नभएको बेपत्तामध्ये एक किशोरीका काका मनोज पासवानको भनाई छ ।
साँझ ७ बजेसम्म किशोरीहरू घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । भंगाहा प्रहरी चौकी सीतापुर, लोहरपट्टी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक राजेश घिमिरे नेतृत्वको टोलीले रातभर किशोरीहरूको खोजी गरेको थियो ।
तर जिल्ला प्रहरी कार्यलय महोत्तरीले भने बालिकाहरु भेटिएको सूचना आएपनि आधिकारीक पुष्टि नभएको बताएको छ ।