चैत १७, काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले आज पुनरावलोकनको निवेदन दर्ता गराएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू आज दिउँसो सर्वोच्च पुगेर निवेदन दर्ता गराएका हुन् ।
प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ,वर्षमान पुन, मातृका यादव, दीनानाथ शर्मा, जनार्दन शर्मा प्रभाकर, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, प्रमुख सचेतक देव गुरुङसमेत सर्वोच्च पुगेका थिए ।
निवेदन दर्ता गराएपछि सर्वोच्चबाट बाहिरिनेक्रममा प्रचण्डले सञ्चारकर्मीसँग पार्टीको नामसम्बन्धी मुद्दामा भएको फैसला अस्वाभाविक र अप्राकृतिक रहेको तथा राजनीतिक प्रकृतिको निर्णय भएकोले पुनरावलोकनको निवेदन दिएको बताए ।
अदालतको आदेशप्रति आफूले पहिल्यैदेखि असहमति जनाउँदै आएको भन्दै प्रचण्डले ऋषि कट्टेलले माग गरेभन्दा बढी बिषयमा अदालतको फैसला आएको बताए । प्रचण्डले भने, ‘हामीलाई विश्वास छ, देशको राजनीतिक स्थायित्वका निम्ति शान्ति र समृद्धिको एउटा नयाँ अभियानमा नेपाल जाँदै छ, यस्तो बेलामा एकताबद्ध भइसकेका दलहरूलाई विभाजित गर्नेजस्तो राजनीतिक काम, अदालतले जो निर्णय गर्यो, त्यो सच्याउनेछ ।’
फागुन २३ गते न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले नेकपा नाम ऋषि कट्टेललाई दिदैँ एमाले र माओवादी केन्द्र ब्युँताएको थियो । सर्वोच्चको आदेशमा दुई पार्टीबीचको एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न भनिएको थियो ।
यसअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सांसद रामनारायण बिडारी, वरिष्ठ अधिवक्ता शम्भु थापा, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, दिनमणि पोखरेल, मुक्ति प्रधानलगायतका कानुन व्यवसायीले सर्वोच्चको फैसलाउपर पुनरावलोकनमा जान सुझाव दिएका थिए ।