खोप हस्तान्तरण नेपाल र चीनबीच सृदृढ सम्बन्ध बनाउन थप योगदान : प्रधानमन्त्री

खोप हस्तान्तरण नेपाल र चीनबीच सृदृढ सम्बन्ध बनाउन थप योगदान : प्रधानमन्त्री

  • सोमवार, चैत्र १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारले नेपाललाई आठ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ प्रदान गरेसँगै नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप सृदृढ हुने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीलाई नेपालका लागि चीनका राजदूत हाउ यान्छीले उक्त खोप र खोपसम्बन्धी दस्तावेज सरकारलाई हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीनले आफ्नै देशमा खोपको विकास गरी मानवजीवन रक्षाका लागि काम गरेको बताउँदै नेपाल सरकार पनि महामारीबाट जनजीवन जोगाउने कुरालाई सर्वाधिक महत्व दिँदै ‘जीवन पहिलो’ को नीतिमा अघि बढाएको बताउनुभयो । हाम्रा दुवै छिमेकीबाट खोपको सहयोग भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारले ती खोप खरिदका लागि तयारी गरेको जानकारी दिनुभयो ।

नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ आज बिहान ल्याइएको हो । चीन सरकारको सिनोफार्मअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्ध पहिलो डोजमा जुन प्रकारको भ्याक्सिन दिइएको हो, दोस्रो डोजमा पनि सोही प्रकारको भ्याक्सिन दिइने बताउनुभयो । केही व्यक्तिबाट दोस्रो मात्रा फरक कम्पनीको भ्याक्सिन दिइने भन्दै अन्यौल सिर्जना गर्ने ढङ्गले टिप्पणी हुन थालेकोतर्फ प्रधानमन्त्रीको सङ्केत थियो । “सरकारले दुईवटै मात्रा एउटै कम्पनीको दिने गरी व्यवस्था गरिसकेको छ”, उहाँले भन्नुभयो ।

सरकारले गत माघ १४ देखि फागुन पहिलो हप्तासम्म पहिलो चरण र गत फागुन २३ देखि दोस्रो चरणको खोप अभियान सञ्चालन गरेको थियो । पहिलो र दोस्रो चरणमा भारतबाट ल्याइएको ‘कोभिशिल्ड’ खोप दिएको थियो । भारत सरकारले पनि नेपाल सरकारलाई १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप प्रदान गरेको थियो ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यान्छीले खोप हस्तान्तरणले चिनियाँ राष्ट्रपति सि जिन पिङको ‘भ्याक्सिनलाई विश्वव्यापी सार्वजनिक सम्पत्ति बनाउने प्रतिबद्धताको कार्यान्वयन भएको बताउनुभयो । यसका साथै खोप हस्तान्तरण दुई देशबीच जनताको स्वास्थ्यप्रतिको प्रतिबद्धताको प्रतिकसमेत भएको धारणा उहाँले व्यक्त गर्नुभयो । चिनियाँ पक्ष प्रधानमन्त्री ओलीको नेतृत्वमा कोभिड–१९ लाई परास्त गर्न गरिएका प्रयासबारे राम्ररी जानकार रहेको उहाँले उल्लेख गर्नुभयो ।

कोरोना प्रकोपको सामान्यकरणसँगै विकास योजनालगायत नेपाल र चीनबीचका दुई पक्षीय सम्बन्धका विविध आयामले गति लिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ